राजेश मिश्र

“हट रे हट । चल, घुम हेने । देख तार हई बयला केने जाता हो । बाँवे घुम ।” जनावर भएर पनि गोरुहरूले किसानको निर्देशन अनुसार काम गर्दछन् । त्यस्तै, गोरुहरूकोे आँसु, आवाज र हलचलजन्य सङ्केतलाई किसानहरूले राम्ररी बुझ्दछन् । एकले अर्काको खुशी र कष्ट अनुभूति गर्दछन् । गोरु र किसान बीच अनन्य अन्तर्सम्बन्ध पाइन्छ । किसान र गोरुजस्तै सरकार र नागरिकबीच, जनप्रतिनिधि र जनताबीच तथा चिकित्सक र बिरामीलगायत सामाजिक स्तरमा आज नङ्ग र मासुको सम्बन्ध अपवादबाहेक पाउन मुश्किल छ । मानवीय अवचेतनमा एकअर्काको पीरमर्काप्रति संवेगात्मक भाव स्थापित हुन सके राष्ट्रिय समृद्धिको कल्पना असम्भव छैन ।

किसानको रहनसहन नेता वा कर्मचारीको जस्तो हुँदैन । धूलाम्य र नाङ्गो खुट्टा, पसिनाले भिजेको गंजी, घुँडासम्म भिरेको मरदानी, शिरमा पगडी र हातमा ॅपैना’ (छडी) सहितको किसानको परम्परागत वेशभूषा आजको परिवेशमा पनि परिवर्तन हुन सकेको छैन । यसको प्रमुख कारणहरूमध्ये सरकारी उदासीनता एक हो । गाउँहरूमा सिंहदरबार स्थापना भएपनि नून, तेल र रोटीको गर्जो टरेको छैन । तन्त्र वा सरकार जतिसुकै फेरिए पनि सर्वहारा वर्गको सरकार कहलाउन लायक कोही पनि उदय भएन । अपवादबाहेक सबै आआफ्नै भकारी भर्ने काममा तल्लीन छन् ।

खेतको काम सकेर घर फर्केपछि किसानले गोरुलाई ॅलेदी-पानी’ (आहार) खुवाएपछि मात्र आफू खान्छ । शारीरिक परिश्रम पछिको नून र रोटी स्वादिष्ट मात्र लाग्दैन, निद्रा पनि गहिरो लाग्छ । सरेहबाट फर्केपछि देहातीजन प्रायः छहारीसँगै खुला स्थानमा भेला हुन्छन् । कोही भुइँमा त कोही गम्छा बिछ््याएर आराम गर्नुका साथै कुराकानी पनि चलिरहन्छ ।

०००

देहातीजन एक आपसमा के र कस्ता कुरा गर्छन् सोको सङ्क्षिप्त अंश कथानक शैलीमा प्रस्तुत छ-
एक बुजुर्गले निराशा प्रकट गर्दै भने- “लकडाउन लागल बा, तब से हमर बेटा घरहीं बा । का जाने कहियाले लकडाउन रही? कहिया हमर बेटा ॅसरेह’ में जाई ? ओकर पढाइ चौपट हो रहल बा हो भाइ लोगन ।” यो कुरा सुनेर एक तन्नेरीको हाँसोमा अरूहरूले पनि साथ दिन थाले । बुजुर्गले आश्चर्यजनक मुद्रामा सबैको अनुहार नियाल्दै पुनः प्रश्न गरे-“बबुआ, काहे हँसतार ?” भद्र प्रकारका एकजनाले सम्झाउँदै भने-“सरेह ना नु काका ॅशहर’ कहल जाला । बुझनी ?” बुजुर्गले भने, हँ हो मरदे जिभ लपटा गइल ह ।”

ॅऐ, के ह प्रधानमन्त्री हो ?’ अर्का एकजनाले जिज्ञासा जाहेर गरे । प्रश्न नसकिंदै एक वयस्कले गाउँकै मुखियाको नाम फ्याट्ट बताइदिए । मुखियाको नाम सुनेपछि ठूलो स्वरमा हाँसो र ठट्टा गुञ्जित भयो । त्यहाँ उपस्थितमध्ये बीस प्रतिशतलाई मात्र प्रधानमन्त्रीबारे थाहा थियो । साठी प्रतिशतलाई थाहा छैन । त्यसैले हाँसो र आश्चर्यमिश्रित भाव आमजनको अनुहारमा प्रकट भइरहेको थियो । एकजनाले आश्चर्यजनक मुद्रामा प्रश्न गरे- “हो त साँचो, हमनी के मुखिया जी ॅप्रधानमन्त्री’ हउवन ?” उत्तर आयो- “का जाने मरदे तहनी हँसतार त बुझाता मुखियाजी प्रधानमन्त्री ना हउवन ।” शहरमा नोकरी गर्ने एकजनाले प्रधानमन्त्री कसलाई भनिन्छ भनेर यसरी सम्झाए- “जेतरे चार गाँव के मालिक मुखिया जी हउवन ओहितरे देश भरके मालिक के प्रधानमन्त्री कहल जाला । आ प्रधानमन्त्री काठमाडौं में रहेलन । अब समझ आ गइल ।”

मुखियालाई नै प्रधानमन्त्री ठान्नेहरूका लागि यो नयाँ जानकारी थियो । उनीहरूले आश्चर्यजनक मुद्रामा एकअर्काको अनुहार नियालिरहेका थिए । एउटोले भन्यो-“तब त मुखिया लोग हितनी में होतना भ्रष्टाचार करता लोग त प्रधानमन्त्री होतना में केतना हो दादा १ र उनीहरूको बुझाइमा स्थानिय जनप्रतिनिधिहरूले थोरैमा यति भ्रष्टाचार गरिरहेका छन् भने प्रधानमन्त्रीले त्यतिमा कति गर्दाहोलान् ।

भैंसीलाई लिएर सोही बाटो घरतर्फ गइरहेका एक मानिस गाउँलेहरूको हाँसोठट्टा सुनेर अडिए । एकजना केटोलाई भैंसीको ॅपगहा’ (डोरी) थमाउँदै भने- “जो बबुओ नाद पर बान्ह दिहे भइँस के ।” त्यसपछि उक्त जमघटमा उनी पनि थपिए । कौतुहलपूणर् आशयमा सोधे-“ए कथि हाहाहीही होता ?” उनको प्रश्न नसकिंदै एकजना वृद्धले मुस्कुराउँदै भन्न थाले-“देख लोगन हेदे आ गइलन चम्पियन नेता ।” गाउँका मानिसहरूले उनको उपनाम ॅचम्पियन’ राखिदिएका छन् । तर किन ? किनभने उनी प्रायः झुक्याउने प्रकृतिका असत्य कुरा सुनाउँदै हिंड्छन् । उनको कुरालाई गाउँको सानो बच्चाले समेत विश्वास गर्दैन । यद्यपि उनी स्वयंलाई ॅनेता’ ठान्छन् । मजाकमा पनि कसैले उनलाई नेता भनिदियो भने उनको मन फुरुङ्ग हुन्छ ।

लकडाउनको विषयमा के जानकारी छ ? भन्ने एकजनाको प्रश्न नसकिंदै चम्पियनको मुखबाट शब्दहरू फुट्न थाले- “अरे प्रधानमन्त्री से ले के स्वास्थ्यमन्त्री आ गृहमन्त्री से भल बात कर के आवतानी ।” यति भनिरहँदा माथिबाट लेदो पदार्थ उसको शिरमा खस्यो । शिरमा औंला घुमाउँदा ताजा बिष्टा उनलाई महसूस भयो । माथि हेर्‍यो । आँपको रूखको टुप्पोमा कागले आँप खाइरहेको थियो । चम्पियनले कागलाई धपाउन खोज्दा काग पुनः बिष्टा खसाउँदै उड्यो । यस पटकको विष्टा ठीक उनको अनुहारमा परेको थियो । विष्टा पुछ्दै र थुथु गर्दै चम्पियन घरतिर लाग्न थालेपछि माहोल ठहाकामा परिणत भयो ।

एक वृद्धले कोरोना र खेतीपातीको प्रसङ्ग कोट्याउँदै प्रश्न गरे-“लकडाउन लागल बा त खेतीपाती कैसै होइ ? खाद आ विया कहाँ से आइ ? कैसे आइ ? दिनभर मुहजाबी (मास्क) लगइले रहला से कोरोना से त बचल जाई मगर पेट कैसे भरी?” यस प्रश्नमा त्यहाँ उपस्थित सबै निरूत्तर भए । उनीहरूको मुहारमा चिन्ता छायो ।

०००

बहु तहको सरकार लकडाउनको अवधारणाबाहेक सामान्यजनको जीविकोपार्जनको सवालमा चिन्ताशून्य छ । सत्ताको खेलमा व्यस्त छ । किसानको लागि जेठ महीना बिडार (ब्याड) मा अगहनी धानको बीउ राख्ने समय हो । वर्षभरि खाने अन्नको सवालमा खेती नगरी सुख छैन । अन्नबाली सरेहबाट भकारीमा आइपुग्दासम्मको यात्रामा विभिन्न प्रकृतिका सरकारी र प्राकृतिक अप्ठयाराहरूको सामना गर्नुपर्दछ । जस्तै बीउबिजन, मल र सिंचाइ आदिको समस्यादेखि बाढी, पहिरो र खडेरी आदि सङ्कटको सामाना गर्नुपर्ने हुन्छ । नेताहरूको केन्द्रबिन्दु सिंहदरबार भएजस्तै आम मानिसको क्रियाशीलता सरेहमा नभए पेट भर्न मुश्किल पर्छ । एक किसानको भौतिक शरीर घरमा भएको बेला पनि मन चाहिं खेतको बाली हेर्दै आलीमा चक्कर काटिरहेको हुन्छ ।

राजनीतिक गतिविधिबारे प्रायः देहातीजनलाई जानकारी हुँदैन । राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री को-को भयो ? कसले संविधानको धज्जी उडायो ? कसले कानूनको मानमर्दन गर्‍योलगायत विषय सामान्यजनको खासै चासोमा पर्दैन । काम नगरे माम पाइँदैन । यस्ता नागरिकलाई केवल चुनावको बेला स्मरण गर्ने परम्परा छ । मतदानपछि यिनीहरूलाई महŒवहीन ठानिन्छ ।

यदि चुनावअघि कुनै प्राकृतिक आपदा भएमा राजनीतिकर्मीहरूको एक हुल गाउँबाट निस्कन नपाउँदै अर्को हुल पस्छ । यसको उदाहरणको लागि बितेको स्थानीय तहको चुनावलाई लिन सकिन्छ । कात्तिकमा चुनाव थियो । चुनावभन्दा अघि साउन र भदौमा बाढी आएको थियो । त्यति बेला चुनावी प्रतिस्पर्धीहरूको एक हुल राहत बाँडेर निस्कियो । लगत्तै अर्को हुल आइपुग्थ्यो । त्यसपछि निर्वाचित जनप्रतिनिधि होऊन् वा पराजित, कोरोनाको दोस्रो लहरमा अपवादबाहेक यिनको अग्रसरता छरपस्ट छ ।

अहिले कोरोनाबाट जोगिने उपायदेखि अस्पताल, उपचार र औषधीको महŒव तात्कालिक आवश्यकताभित्र पर्ने नै भयो । यद्यपि स्वास्थ्य सुनिश्चितताप्रति समेत अग्रसर हुनु नितान्त आवश्यक छ । किनभने अहिले व्यावसायिक, औद्योगिक र कृषि कारोबारमा हुने क्षति दूरगामी असरको रूपमा उदय नहुने कुरै हुँदैन । भविष्यमा पर्ने प्रभावलाई मध्यनजर गरी व्यवसायको प्रकृति अनुसार वैकल्पिक बाटो पहिल्याउनु अहिलेको आवश्यकता हो । र, यसप्रति जिम्मेवार निकायको ध्यानाकर्षण मात्र होइन, सहजीकरणको सवालमा कोरोनासँग जुध्दै भविष्यप्रति पनि गम्भीर हुनु अनिवार्य छ ।

शहरभन्दा गाउँको जनसङ्ख्या भूगोल धेरै ठूलो छ । कृषि प्रणालीप्रति गम्भीर नहुने हो भने यसले कोरोना भन्दापनि ठूलो सङ्कट खडा गर्न सक्छ । कृषिप्रधान देश कहलिने नेपालको प्रमुख बाली नै धानबाली हो । बीउबिजन छर्ने समयमा शहरसँगै देहात लकडाउनको सामना गरिरहेको छ । लकडाउन भए पनि खेतीपातीको सवालमा सतर्कतासहितको अवधारणा ल्याउनु आवश्यक छ । खेतीपाती गर्न भीड चाहिंदैन । सरेह आफैंमा एकान्त स्थान हो जहाँ खेतीपाती हुन्छ । सरेह भनेको जुलुस, सभा वा विवाहजस्तै भव्य र भीडभाड हुने क्षेत्र होइन । त्यसैले प्रत्येक पालिकाले कृषि कार्यको सवालमा साझा अवधारणा ल्याउनुपर्छ । बीउबिजन लगायत कृषिजन्य सामग्रीको सहज उपलब्धताको लागि पहल गर्नुपर्दछ । कोरोनाको बहानामा हरेक क्षेत्रलाई प्रभावित गर्ने काम भविष्यको लागि कदापि राम्रो सङ्केत हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here