प्रस, वीरगंज, १३ जेठ/
वीरगंजका निजी अस्पतालका सञ्चालकहरू र प्रमुख जिल्ला अधिकारी पीताम्बर अधिकारीबीच छलफल भएको छ।
पछिल्लो चरणमा कोरोना सङ्क्रमण बढेपछि वीरगंजका निजी अस्पतालहरूले सङ्क्रमितका परिवारसँग बढी शुल्क असुल गरेको समाचार प्रकाशमा आएपछि आज सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा छलफल भएको हो। छलफलको क्रममा बढी शुल्क लिएको आरोप लागेका स्पर्श मल्टिस्पेशलिटी अस्पताल र प्रभु अस्पतालले सरकारले तोकेको दररेटभन्दा बढी शुल्क नलिएको प्रमाण पेश गरेका थिए। उनीहरूले बिलिङ गर्दा त्रुटि भएको र त्यसैलाई आधार बनाएर गलत प्रचार गरिएको बताएका थिए।
छलफलमा सहभागी निजी अस्पतालका सञ्चालकहरूले आफूहरूले तोकिएको दररेटमा बिरामीहरूको सेवा गर्दै आएको दाबी गरे। उनीहरूले भौतिक संरचना, उचित जनशक्ति, साधन स्रोत र सेवा सुविधाका आधारमा निजी अस्पतालको शुल्क सरकारले तोके अनुसार आफूहरूले लिएको बताए। आगामी दिनमा पनि आफूहरूले बिरामीहरूप्रति देखाउने सेवाभावमा व्यावसायिकताभन्दा सामाजिक दृष्टि राख्ने प्रतिबद्धता जाहेर गरेका थिए। आफूहरूले बिरामीहरूको सक्दो सेवा गरेर उचित शुल्क लिएको बताए।
प्रजिअ घिमिरेले सरकारले तोकेको दररेटभन्दा बढी नलिन सुझाव दिए। उनले अहिलेको अवस्थामा सबैजनाको सहयोग र सहकार्य आवश्यक हुनाले सोही अनुरूप सेवा प्रवाह गर्न निजी अस्पतालका सञ्चालकहरूलाई आग्रह गरे। नियतवश गरिने गलतीलाई माफ नगर्ने उनले चेतावनी पनि दिए। बैठकमा नारायणी वयोधा, वीरगंज हेल्थकेयर, गण्डक अस्पताल, स्पर्श, प्रभु, तराई, एडभान्स, कृष्णा, सूर्यालगायत अस्पतालका सञ्चालक, प्रतिनिधिहरूको सहभागिता थियो।