नितेश कर्ण, वीरगंज, १३ जेठ/
पर्सा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत ४ सय घर निर्माणको लागि ४ हजार मानिसको निवेदन दर्ता भएको कार्यक्रमका संयोजक प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बताए।
प्रदेश सरकार मातहत जनता आवास कार्यक्रम सञ्चालन भएपछि दोस्रो चरणमा ४ सयजना गरीब, अतिविपन्नहरूको घर निर्माण गर्ने सूचना जारी भएपछि जिल्लाभरिका ४ हजारजनाले आवेदन भरेको उनले बताए। आवेदनमा छानबीन गरी आजभोलिमा ४ सयजनाको नामावली सार्वजनिक गर्ने र तत्काल घर निर्माण कार्य शुरू गर्ने उनले जानकारी गराएका छन्।
यसअघि, पहिलो चरणमा डेढ महीनाअगाडि २ सय घर जिल्लामा निर्माण भएको र ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए। पर्सा जिल्लाका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमा २५ वटा घरका दरले निर्माण कार्य भइरहेको उनले बताए। प्रतिघर साढे ३ लाख मूल्यमा उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको संयोजक कुर्मीले जानकारी गराए।
जति ठाउँमा घर निर्माण भइरहेका छन्, सोही ठाउँका व्यक्तिको संलग्नतामा उपभोक्ता समिति बनाएर निर्माण कार्य भइरहेको उनले बताए। पहिलो चरणका २ सय घरमा टिन छाउन र प्लास्टर गर्न बाँकी छ। प्रतिघर दुईवटा कोठा, बरन्डा र शौचालय निर्माण भइरहेको उनले जानकारी गराए।