प्रस, वीरगंज, १३ जेठ/

प्रदेश प्रहरी कार्यालय प्रदेश नं २ ले वीरगंजको घटना सम्बन्धमा प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको छ।

प्रदेश प्रहरीका प्रवक्तासमेत रहेका प्रसाईंले आफ्नो संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन भएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। वीरगंज महानगरपालिका–८ पानीटङ्की चोकस्थित जेठ १२ गते बुधवार बिहान १० बजे प्याथो सर्जिकलका कर्मचारीलाई पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले लट्ठी, बूटले पसलभित्र कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो सम्बन्धमा छानबीन समिति गठन भएको हो।

बुधवार बिहान १० बजे सो क्षेत्रमा किरानापसल खुलेको र ती पसल बन्द गराउने क्रममा प्रहरी गतिविधिबारे सर्जिकलका कर्मचारीले मोबाइलबाट तस्वीर लिएको भनी कुटपिट गरेको प्रहरीको भनाइ छ। कर्मचारीले भने त्यस घटनाको कुनै तस्वीर नलिएको दाबी गरेका छन्। प्रहरीले निजको मोबाइलसमेत नियन्त्रणमा लिएको छ।

नेपाल शल्य तथा रासायनिक सङ्घ, वीरगंजका अध्यक्ष सुशील खेतानले तीन दिनभित्र घटनाको तथ्य पत्ता लगाइ दोषीलाई कारबाई नगरे पसल बन्द गर्ने चेतावनी दिएका छन्।

उनीहरूले प्रमुख जिल्ला अधिकारी पीताम्बर अधिकारीलाई घटनाबारे जानकारी गराएका हुन्। उनले अहिलेको सङ्क्रमणको बेला औषधि तथा सर्जिकलका कर्मचारीहरूलाई कामको क्रममा सवारीसाधनबाट जाँदा प्रहरीले परिचयपत्र हुँदा पनि हप्काउने, दुव्र्यवहार गर्ने जस्ता कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

सफाइकर्मी पनि कुटिए

बुधवार औषधि बिक्री गर्ने कर्मचारी कुटिएको घटना मत्थर नहुँदै बिहीवार वीरगंज महानगर–१६ नगवाचोकमा एकजना सफाइकर्मीलाई प्रहरीले निर्घात कुटपिट गरेको छ। सफाइकर्मी विनोद राउतलाई प्रहरीले कुटपिट गरेको र उनको हातमा गम्भीर चोट लागेको छ।

प्रहरीले लट्ठीले कुटेर घाइते पारेको उनले बताए। आफूहरू काम गरिरहेको बेला गाडीमा प्रहरी आएर एक्कासि कुटपिट गरेको राउतले बताए। उनले आफूसँग भएको परिचयपत्रसमेत नहेरर प्रहरीले कुटपिट गर्नु गैरजिम्मेवारीपन भएको र यसो गर्ने प्रहरीमाथि कारबाई हुनुपर्ने उनले माग गरेका छन्। वीरगंजमा सफाइ कर्मचारीहरू यसअघि पनि कुटिएको उनले बताए।

यसैगरी, प्रहरीले सफाइकर्मीलाई कुट्ने हो भने आफूहरू काममा नखट्ने उनले चेतावनी दिए। यसबारे प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सफाइकर्मीलाई काम गर्न अवरोध नगर्न निर्देशन दिएको र सोको विपरीत भए सम्बन्धित प्रहरीलाई कारबाई गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here