प्रस, परवानीपुर, १३ जेठ/

सरकारले ल्याउने आगामी आव २०७८/०७९ को बजेटमा सवारीसाधन आयातमा भन्सार राजस्व दरबन्दीमा वृद्धि हुने भएपछि व्यवसायीहरूले धमाधम गाडी छुटाउन थालेका छन्। राजस्व बढ्यो भने गाडीको जाँचपासमा करोडौं रुपैयाँको हर्जाना बेहोर्नुपर्छ भन्ने मान्यताका साथ व्यवसायीहरू वीरगंजस्थित दुर्ईवटै भन्सार नाकामा होल्ड सवारीसाधनहरू छुटाउन सक्रिय भएका छन्।

गत माघदेखि चैत मसान्तसम्म सयौं गाडी जाँचपास गरी व्यवसायीहरूले लगेकामा वैशाखदेखि कोरोना महामारीको कारण अहिले गाडी छुटाउने क्रममा सुस्तता भएको भन्सार अधिकारीहरूको भनाइ छ। वीरगंज भन्सारको आइसिपीमा कार, जीप, भ्यान, ट्रक, ट्याक्टरलगायत करीब २५५ थान गाडी होल्ड छन् भने वीरगंजको श्रीसिया सुक्खा बन्दरगाहमा १४५ थान जीप, कार होल्ड रहेको भन्सार कार्यालय सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ।

इन्टरमोडेलका शाखा अधिकृत तर्कराज जोशीका अनुसार वैशाख १६ गतेपछि विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण गाडी छुटाउने क्रममा कमी आएको बताए। उनका अनुसार २६ मेमा आइसिपीबाट ५० वटा कार, १५ वटा जीप र ५ वटा ट्याक्टर गरी ७० वटा गाडीको जाँचपास भएको छ भने २५ मेका दिन ५५ वटा कार, १७ वटा जीप र २ वटा ट्याक्टर गरी ७४ वटा सवारीसाधन छुटेका थिए। त्यसैगरी, २४ मेमा १७ वटा जीप र २ वटा ट्याक्टर गरी १९ वटा गाडी मात्र जाँचपास भएको थियो।

यता, श्रीसिया सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले अहिले हप्तामा ४/५ वटा गाडीको मात्र जाँचपास भइरहेको बताए। वैशाखअघि दैनिक ५ वटाभन्दा बढी गाडीको जाँचपास हुन्थ्यो।

वीरगंज भन्सारका अधिकृत शैलेन्द्र अधिकारीका अनुसार कोरोना महामारीका कारण देशको बदलिंदो परिस्थितिका कारण वीरगंज भन्सारको आयात र राजस्व सङ्कलनमा ५० प्रतिशतले गिरावट आएको छ। उनले राजस्व सङ्कलनको मुख्य शीर्षक इन्धन आयात र सवारीसाधन भएको बताए। अहिले यी दुवै वस्तुको आयात भएको छैन।

वैशाख १६ गतेपछि त गाडीको जाँचपास कम भएको छ। पहिले एक दिनमैं ५० देखि ६० करोड रुपैयाँ राजस्व सङ्कलन हुने भन्सार कार्यालयमा अहिले मुस्किलले दैनिक रु १६ करोड राजस्व सङ्कलन भइरहेको छ।

चालू आवको लागि जारी गरिएको भन्सारको आर्थिक ऐन अनुसार विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार महसूल र मूल्य अभिवृद्धि कर तथा सडक सम्भार दस्तुर गरी २० प्रतिशत गरी ६० प्रतिशत राजस्व लाग्छ भने पेट्रोल र डिजेल इन्जिनका सवारीसाधनमा सिसी अनुसार राजस्व लाग्ने गरेको भन्सार अधिकृत अधिकारीले बताए। उनले हाल सिसीको आधारमा ३० देखि ८० प्रतिशत भन्सार महसूल, २० देखि ६० प्रतिशतसम्म अन्तःशुल्क र १३ प्रतिशत मूअक र ८ प्रतिशत आरडिएफ (सडक सम्भार दस्तुर) गरी अधिकतम २३० प्रतिशत राजस्व लाग्ने गरेको बताए।

नेपालमा दुर्ई वर्षदेखि कोरोना महामारी, उच्च भन्सार दर र सहज ऋण उपलब्ध नहुँदा विलासी गाडी तथा अन्य सवारीसाधनको आयातमा कमी आएको व्यवसायीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here