धर्मेन्द्र चौरसिया, पोखरिया, ९ जेठ/

कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले जिल्लाको मुख्य नाका वीरगंज–रक्सौलबाहेक अन्य सबै नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।

गत वर्षदेखि नै सीमा सिल भएको र अहिलेसम्म पूर्णरूपमा खुलिनसकेको अवस्थामा दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएसँगै कोभिड सङ्कट व्यवस्थापन केन्द्र, पर्साले मुख्य नाकाबाहेक अन्य नाका सबै आवतजावतको लागि बन्द गरेको थियो। तर अहिले पर्सा जिल्लाको वीरगंज–रक्सौल नाकाबाहेक अन्य सबै नाकामा आवागमन सञ्चालन छ।

लुकीछिपी नाकाबाट मानिसहरूको आवतजावत भइरहेको छ र सुरक्षाकर्मीहरूले रोक्न सकेका छैनन्। पहिलो चरणको कोरोनामा भारतबाट आउनेहरूको पिसिआर परीक्ष्Fण गरी क्वारेन्टाइनमा राख्ने र घर फर्काउने गरिएको थियो। अहिले कुनै पनि गापाले क्वारेन्टाइन बनाएको छैन। गत वर्ष क्वारेन्टाइनको लहर चलेको थियो र सबै पालिकाले क्वारेन्टाइन बनाएका थिए भने यसपटक आइसोलेशनको लहर चलेको छ र सबैले आइसोलेशन बनाएका छन्।

पकाहामैनपुर गापाका अध्यक्ष विजय चौरसियाले गापाले २५ शय्याको आइसोलेशन बनाएको बताए। उनले यसपटक कुनै पनि गापाले क्वारेन्टाइन नबनाएको कारण आफ्नो गापाले पनि नबनाएको बताए। यो गापा भारतीय सीमासँग जोडिएको छ। गापा अध्यक्ष चौरसियाले भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने क्रम नरोकिएको खुलासा गरे। उनले वैवाहिक कार्यक्रममा अझ बढी भीडभाडका साथ आवागमन हुने गरेको र यसलाई रोक्न आफूहरू असमर्थ रहेको बताए। गाउँमा भीडभाड नगरी वैवाहिक कार्यक्रम गर्न सल्लाह दिंदा एउटै छोरा/छोरी हो भनेर धूमधामका साथ गर्नैपर्ने बाध्यता तेस्र्याउने र अटेर गर्ने गरेको उनले बताए। सीमामा आवागमन रोक्ने काम गापाभन्दा सुरक्षाकर्मीहरूको भूमिका बढी हुने उनले बताए।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्Fक दीपककुमार सिंहले सीमा सुरक्षामा सशस्त्र प्रहरी अग्रपङ्क्तिमा खटेको र उनीहरूसँग जनशक्ति पनि पर्याप्त रहेको हुँदा आवागमन रोक्ने जिम्मेवारी पनि उनीहरूको भएको बताए। उनले जनपद प्रहरीहरू थोरै सङ्ख्यामा भएको र उनीहरूबाट सीमामा नियन्त्रण सम्भव नहुने बताए। मुख्य बाटो भएर हुने आवागमनमा प्रहरीले कडाइ गर्दै आएको उनले बताए। खुला सीमा भएको कारण जताततै मानिसहरू आवागमन गर्ने हुनाले उनीहरूलाई रोक्ने काममा सशस्त्र प्रहरीको भूमिका सशक्त हुनुपर्ने उनको भनाइ छ।

पर्सा जिल्लाको ठोरी, जगरनाथपुर, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी गाउँपालिका र वीरगंज महानगरपालिकासँग भारतको भिखना ठोरी, इनर्वा, सिकटा, मैनाटार, भेलाही, रक्सौल सीमानाका पर्दछन्। यहाँबाट अहिलेसम्म मानिसहरूको आवागमन रोकिएको छैन। सामानहरू खरीद गर्नको लागि लुकीछिपी भारत जाने र आउने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here