परासी, ९ जेठ/रासस

कोरोना सङ्क्रमित वृद्धि भएपछि नवलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू)सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकसहित दश शय्याको एचडियू र १९ शय्याको अक्सिजनजडित आइसोलेशन रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामैं सुविधायुक्त अस्थायी कोभिड अस्पताल शुरू भएपछि भेन्टिलेटरमा राख्नुपर्नेबाहेक  सङ्क्रमितको उपचारमा सहज भएको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए।

सुनवल–१ सोमनाथस्थित बाल सिकाइ केन्द्रको दुई तले भवनमा अस्पताल सञ्चालन गरिएको छ। पहिलो तलामा अक्सिजनसहितको आइसोलेशन र दोस्रो तलामा एचडियू सेवा छ। भवननजीकै रहेको सुनवल जेसीजको भवनमा २४सैं घण्टा एकजनाको दरले स्वास्थ्यकर्मी रहने गरी सचिवालय बनाइएको छ।

अहिले १४ जना सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ। एचडियू सञ्चालनका लागि सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले करीब रु ७० लाख बराबरको मेडिकल उपकरणसहितको सामग्री उपलब्ध गराएको छ।  अस्पतालमा अहिले दुर्ई चिकित्सक र १२ जना स्वास्थ्यकर्मी रहेको उक्त अस्पतालका डा चन्द्रशेखर यादवले बताए। एचडियू सेवाका लागि तीनजना चिकित्सक थप्न लागिएको नगरप्रमुख थापाले जानकारी दिए।

कोभिड सङ्कट व्यवस्थापनमा सुनवल  जिल्लामैं नमूना र अब्बल रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउँछन्। “सुनवलमा व्यवस्थित तरीकाले कोरोना नियन्त्रणको प्रयास गरेको पाइएको छ, राम्रो व्यवस्थापन र स्तरीय सेवा दिइएको छ, जनप्रतिनिधि, कर्मचारी तथा सुनवलवासी सबैको सक्रियता र सहयोगले यो सम्भव देखिएको हो,” उनले भने।

स्वास्थ्य कार्यालयका अनुसार हाल सुनवलमा ४३५ सक्रिय सङ्क्रमित रहेका छन् भने ३३ जनाले सङ्क्रमणबाट ज्यान गुमाउनुपरेको छ। नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितको पनि घरमैं पुगेर उपचार तथा आवश्यक परामर्श प्रदान गर्दै आएको छ। होम आइसोलेशनमा बसेकालाई अक्सिजन आवश्यक पर्दा तत्काल उपलब्ध गराउने गरिएको छ भने चिकित्सकको परामर्श र १३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए।

पिसिआर जाँच गर्न चाहनेका लागि नगरपालिकाले हरेक दिन बुटवलसम्म लैजाने–ल्याउने गरी यातायात सुविधा प्रदान गरेको छ।

नगरपालिकाले कोभिडको कारण मृत्यु हुनेको घरमा कन्ट्याक्ट टे«सिङमा परेकालाई एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको छ। नगरपालिकासँग रहेका तीनवटा एम्बुलेन्समध्ये एउटा कोभिड बिरामी बोक्न, एउटा अन्य बिरामी बोक्न र एउटा सुत्केरी बोक्न प्रयोग गरिएको छ।

कोभिड सङ्कट व्यवस्थापन र सङ्क्रमणबाट नागरिकको ज्यान जोगाउन नगरपालिकाले थप रु २५ लाख बजेट रकमान्तर गरेको छ। अस्पतालका डा यादवले अधिकांश बिरामी जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको बताउँछन्। यसअघि बर्दघाट नगरपालिकाले पनि एचडियूसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको थियो। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सात स्थानीय तह र जिल्ला अस्पतालमा गरी १०३ शय्याको अक्सिजनसहितको आइसोलेशन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here