यद्यपि देशलाई कोरोना सङ्क्रमणले दग्ध पारेको छ। राजनीतिक अस्थिरता मात्र होइन, राजनीतिक–अराजकताको दङ्गल विस्तार भइरहेको छ। उपचारको नाउँमा ब्रह्मलुट चलिरहेको छ, महामारीबाट जनतालाई त्राण दिने दायित्व बोकेको सरकार र सरकारी निकायमा, ताक परेको बेला, अधिकतम कमिशनको आस जागेको छ। जनताका लागि नभई नहुने खोप खरीद कमिशनका कारण रद्द भएको छ। कोरोनाविरुद्ध दोस्र्रो चरणको खोप लगाउने म्याद समाप्त भइसकेको छ, तर सरकार अनुदान र सहयोगको आसमा बसेको छ। लामो निषेधाज्ञाले गरिखाने वर्ग अत्तालिन पुगेको छ, मानिसलाई आवश्यकताका वस्तु प्राप्त भइरहेको छैन। ‘अति आवश्यक कामले बाहिर निस्कन सकिने’ सरकारी उर्दीलाई स्वास्थ्य सुरक्षाका लागि सडकमा खटेको प्रहरीले वास्ता गरिरहेको छैन, यद्यपि यसमा नागरिक पनि धेरै हदसम्म जिम्मेवार छ। केही उद्दण्ड र स्वेच्छाचारीहरूका कारण सामान्यजनले सास्ती खेप्नुपरिरहेको छ। सरकार र अस्पतालहरूले कोरोनाबाहेक अरू पनि रोगले मानिस पीडित हुन सक्छ भनी बिर्सिसकेका छन्।

यीबाहेक पनि अहिले नेपाली जनजीवन थुप्रै प्रकारका पीडा भोगिरहेको छ। यस्तैमा केही व्यक्ति, संस्थाहरू पनि छन्, जसले असन्तुलित बन्दै गएको मावन जीवनमा आशाको किरण जगाइरहेका छन्। ग्रीन सिटीले आफ्नो क्षेत्रको अन्यान्य आवश्यकता पूर्ति गर्नुका साथै यहाँ उपलब्ध नभएका औषधि सीमापारबाट ल्याएर आपूर्ति गरिरहेको छ। समर्पण सेवा तथा साहिब दरबारले निषेधाज्ञाको यस दुष्कर परिस्थितिमा अनवरत भोजन उपलब्ध गराइरहेका छन्, सानो पाइलाले उपचार सामग्री उपलब्ध गराउने र अन्यान्य काम गरिरहेको छ। रोटरी मेट्रोपोलिस, रोट्र्याक्टहरू सक्दो सेवा कार्यमा जुटेका छन्। धेरै चिकित्सकले भर्चुअल उपचार सेवा प्रदान गरिरहेका छन्। यस विषम परिस्थितिमा पनि रक्तदानजस्तो कार्यमा दाताहरू निर्भय दान जुटेका छन्, रक्त सञ्चार केन्द्रका धेरै व्यक्ति एकपटक होइन, दुईदुईपटक सङ्क्रमित भएर पनि सेवा कार्यबाट पलायन भएका छैनन्। लायन्स क्लबहरूलगायत अन्यान्य थुप्रै सहयोगी हात यस विषम परिस्थितिमा अगाडि आएका छन्। सरकार अगतिलो भए पनि, समाज संवेदनशील छ, निष्काम सेवाभाव, कमिशन, कालोबजारी, स्वार्थविना काम भइरहेको छ।

अहिलेको बेला सर्वथा सामथ्र्यवान् त सरकार नै हो। सरकार नतात्नु र झिनामसिना संस्थाहरू तात्नु भनेको ताप्के नतारेर बिंड तातेको समान हो। तर सरकार तात्दैन, किनभने उसको स्वार्थ स्वकल्याणमा निहित छ, सर्वकल्याणसँग उसलाई वास्ता छैन। हिजो मन्त्रिमण्डल गठन हुँदा अब कोरोनाविरुद्ध लडाइँमा एकजुट हुनुपर्छ भन्ने मन्त्रीहरू अहिले पुनः सत्ता समीकरण बनाउन लागिपरेका छन्। प्रधानमन्त्रीले पुनः प्रतिनिधिसभा भङ्ग गरेर निर्वाचनको मिति तोकेर राष्ट्रपतिसँग अनुज्ञा प्राप्त गरिसकेका छन्। कात्तिकमा निर्वाचन हुने र विश्वका स्वास्थ्यविज्ञहरूको आकलन हेर्दा, त्यतिन्जेल कोरोनाको दोस्रो लहरपछि तेस्रो र अति सा–हो खालको भेरिएन्ट आउने बेला हुनेछ। निर्वाचन मानिसहरूको अनियन्त्रित भीड जम्मा हुने थलो हो। यस विपरीत परिस्थितिमा मानवीय नाताले समेत निर्धारित चुनाव त पर सार्नुपर्नेमा अचिन्त्य निर्वाचनको झमेला बेहोर्नुपरेको छ। अब सूर्य होइन, जून पनि होइन, जूनकीरीको उज्यालोबाट मात्र सम्बल खोज्ने हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here