प्रस, पर्सागढी, ८ जेठ/
पटेर्वासुगौली गाउँपालिका-५ स्थित भलुही खोला किनारमा सार्वजनिक ऐलानी जग्गामा लगाइएको रूखबिरुवामध्ये दुईवटा सिसौको रूख कटान गरी जगरनाथपुरस्थित एउटा समिललाई बिक्री गरेको अवस्थामा बरामद भएको छ ।
सार्वजनिक ऐलानी जग्गामा गरिएको वृक्षरोपणमा हुर्केको दुईवटा सिसौको रूख चोरहरूको समूहले कटान गरी जगरनाथपुर गापा-४ मा रहेको जटाशङ्कर प्रसादले सञ्चालन गरेको समिलबाट बरामद भएको हो ।
स्थानीय युवाहरूको सक्रियतामा सो सिसौको काठ समिलबाट बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए । उनले प्रारम्भिक अनुसन्धानमा वाजिर मियाँले सिसौको रूख कटान गरी सोको काठ समिलका मुन्सी अमीर मियाँसँगको मिलेमतोमा समिलमा बिक्री गरेको पाइएको बताए । उनले घटनाका कसूरवार मिल सञ्चालक, मुन्सी र चोर वाजिरलाई कारबाही गरिने बताए । जटाशङ्कर प्रसादको समिलबाट बरामद सिसौको गुलिया काठ निचुटामा राखिएको छ ।