ओमप्रकाश चौधरी, सेढवा, ७ जेठ/
जीराभवानी गाउँपालिकाका बासिन्दा एक वर्षदेखि सडकको कारण समस्या भोग्दै आएका छन् ।
गत आर्थिक वर्षमा थरुहट सडकखण्ड निर्माणका लागि ठेक्का सकार गरेको रञ्जन निर्माण सेवाले समयमा कार्य नगर्दा यस क्षेत्रका बासिन्दाहरूले समस्या भोग्नुपरेको हो । थरुहट सडकखण्ड अन्तर्गत जीराभवानी गाउँपालिकाको बलुवा, महादेवपट्टि, सेढवा, नौकाटोला, सहजानपुर, कोढौली, सानो कोढौलीलगायतका बासिन्दाहरूले कठिनाइ बेहोर्नुपरेको जीराभवानी गापा-२ सेढवा निवासी पूजन खाँ थारू बताउँछन् ।
गत वर्ष असार महीनामा सडक निर्माणको लागि माटो बिछ्याइएको थियो । तर त्यस बेलादेखि अहिलेसम्म सडकमा माटो बिछ्याउनुबाहेक अन्य काम अगाडि नबढाउँदा यहाँका मानिसहरू घाम लाग्दा धूलो र पानी पर्दा हिलोको कारण सडकखण्डको प्रयोग गर्नबाट वञ्चित हुँदै आएका छन् । माटो बिछ्याइएको कारण सामान्य वर्षामा पनि सडक हिलाम्य भएर आवागमन बन्द हुने गरेको उनले बताए ।
जीराभवानी गापा-४ निवासी सञ्जय चौधरीले गण्डक नहरभन्दा माथि बाराको जीतपुरदेखि जीराभवानीको महादेवपट्टिसम्मको प्रमुख बाटो थरुहट सडक भएको र सो सडकखण्ड हिलाम्य भएपछि आवागमन ठप्प भएर समस्या हुने गरेको बताए ।
उनले अहिले निषेधाज्ञाको कारण सवारीसाधनहरूको प्रयोग कम भएको तर अन्य बेलामा पनि यस प्रकारको समस्याले पीडित हुने गरेको बताए । सवारीसाधनहरू मात्र होइन मानिसहरू पैदलसमेत आवतजावत गर्न समस्या हुने गरेको उनको आरोप छ । यसका साथै वीरगंज-ठोरी सडकखण्डमा पनि थरुहट सडक पर्ने हुँदा ठोरीवासीलाई पनि वीरगंज आवतजावत गर्दा समस्या हुने गरेको चौधरीले बताए ।
रञ्जन निर्माण सेवाका सञ्चालक एवं प्रदेशसभा सदस्य सिंहासन साह कलवारले बेमौसमी वर्षाका कारण काम गर्न समस्या भएको बताए । उनले काम गर्ने बेला लगातार पानी पर्दा काम रोक्नुपरेको बताए । उनले वर्षाले गर्दा काम गर्न ढिला भइरहेको प्रतिक्रिया दिए । उनले मौसमको अनुकूलतासँगै काम सुचारु हुने र दुई साताभित्र ग्रेभल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरे । उनले यो सडकखण्डमा माटोले पुरी माथि ग्रेभल गर्नेसम्मको ठेक्का भएको बताए ।
सञ्जीव मिश्र, विन्दवासिनी/
छिपहरमाई गाउँपालिका-५ भिस्वाको सडक वर्षाको कारण हिलाम्य भएको छ । पकहामैनपुर गापाको सबैठवा हुँदै वीरगंज आउने मुख्य सडक निर्माण नहुँदा त्यस भेगका जनताले सास्ती भोग्दै आएका छन् । सडक हिलाम्य भएपछि सो बाटो सवारीसाधन आवतजावत बन्द भएको छ भने पैदल यात्रा गर्न पनि समस्या भएको छ ।
प्रदेश दुई सरकारको बजेटमा सो सडकखण्ड निर्माण भइरहेको हो र संयोगले प्रदेशसभा सदस्य सिंहासन साह कलवारको रञ्जन निर्माण सेवाले यो डकखण्ड निर्माणको ठेक्का पाएर कार्य गर्दै आएको छ ।
सडक निर्माणको ठेक्का लिएको रञ्जन निर्माण सेवाले कार्य सम्पन्न गर्न ढिला गरेको कारण वर्षामा हिलो र घाममा धूलोको समस्या यो सडक प्रयोग गर्नेहरूले झेल्दै आएका छन् ।