प्रस, वीरगंज, ७ जेठ/
पर्सा जिल्लामा सङ्क्रमित सङ्ख्यासँगै मृत्युदर पनि घट्दो छ । बितेका केही दिनदेखि सङ्क्रमित सङ्ख्यासँगै दैनिक मृत्युदरमा पनि कमी आएको छ । वीरगंज महानगरपालिकाका करीब डेढ दर्जन अस्पतालमा अहिले कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको छ ।

नारायणी अस्पतालमा दैनिक २८८ जनाको स्वाब नमूना पिसिआर प्रयोगशालामा परीक्षण हुने गरेको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए । उनले गत दुई सातादेखि सयभन्दा माथि सङ्क्रमित पुष्टि हुँदै आएकोमा अहिले केही दिनदेखि सङ्क्रमण दर घटेर सङ्क्रमित सङ्ख्या सयमुनि पुगेको बताए । उनले गत मङ्गलवारदेखि सयमुनि सङ्क्रमित सङ्ख्या भेटिएको बताए ।

यसैगरी, मृत्युदरमा पनि कमी आएको छ । नारायणी अस्पतालमा मात्र दैनिक ८ देखि १० जनासम्म मृत्यु भइरहेकोमा अहिले सो सङ्ख्या घटेको छ । वीरगंजभरिका अस्पतालमा दैनिक ११ देखि १५ जनासम्म कोरोना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ । बितेको दुई साता सङ्क्रमण दरसँगै मृत्युदर पनि बढेको थियो ।

अहिले पनि दैनिक २८८ जनाको स्वाब नमूना परीक्षण भइरहेको छ तर सङ्क्रमणसँगै मृत्युदर पनि घटेको छ । बिहीवार तीनजनाको मृत्यु भयो भने शुक्रवार साँझ ५ बजेसम्म नारायणी अस्पतालमा एकजनाको पनि मृत्यु नभएको कोभिड संयोजक डा दास बताए ।

यसैबीच, नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बिहीवार राति ५४ जना सङ्क्रमित पुष्टि गरेको छ । अस्पतालका कोभिड संयोजक डा दासले २८८ जनाको स्वाब नमूना पिसिआर परीक्षण गर्दा ५४ जना सङ्क्रमित पुष्टि भएको उनले बताए ।

उनले पर्साका ३७ जना, बाराका १३ जना र रौतहट तथा सर्लाहीका दुई/दुई जना सङ्क्रमित पुष्टि भएको बताए । सङ्क्रमित हुनेमा १४ जना महिला र ४० जना पुरुष छन् भने उनीहरूको उमेर १४ देखि ७५ वर्षसम्म छ । सङ्क्रमितहरूको सिटी भ्यालू १६.९ देखि ३५.८ सम्म रहेको संयोजक डा दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here