राधेश्याम पटेल, वीरगंज, ६ जेठ/
कोरोना महामारीको दोस्रो चरणमा जताजतै निषेधाज्ञा, उद्योग, कलकारखाना एवं व्यापार प्रभावित भएपछि त्यसको नकारात्मक असर भन्सारको राजस्व असुलीमा पनि परेको छ ।

वैशाख मसान्तमा वीरगंजस्थित दुईवटा भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । वीरगंजका दुवै भन्सार कार्यालय (पुरानो आइसिपी) बाट न्यून मालवस्तु भित्रिंदा राजस्वमा गिरावट आएको भन्सार अधिकारीहरूले बताएका छन्।

विशेषगरी वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी भएकोले कामकाज तथा मालवस्तु मगाउने र छुटाउने काममा कमी आएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी गराए ।

कोरोनाको पहिलो लहरको समाप्तिसँगै गत माघदेखि लयमा फर्केको वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलन वैशाखमा पुनः ओरालो लागेको छ । यी दुवै भन्सार कार्यालयले वैशाखको राजस्व लक्ष्य भेटाउन सकेका छैनन् ।

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार वैशाखमा रु ७ अर्ब ९ करोड ५४ लाखको लक्ष्य पाएको यो भन्सारले रु ६ अर्ब २२ करोड ९७ लाख मात्र राजस्व सङ्कलन गरेको छ भने चालू आवमा वैशाखसम्म रु १ खर्ब ३५ अर्ब ९५ करोड राजस्व असुलीको लक्ष्य पाएकोमा रु १ खर्ब ४१ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरेको छ । यस भन्सार कार्यालयले चालू आवको लागि रु १ खर्ब ७० अर्ब ७६ करोड राजस्व असुली गर्ने लक्ष्य पाएको छ ।

वीरगंजस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको वैशाखमा रु ५ अर्ब १३ करोड ६६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ७८ करोड १ लाख राजस्व असुली गरेको जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुृर खत्रीका अनुसार यो भन्सारले चालू आवको वैशाखसम्म रु ३५ अर्ब १ करोड लक्ष्य पाएकोमा ३३ अर्ब ९३ करोड ६२ लाख मात्र राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत खत्रीले कोरोना महमारीमा पर्सा, बारामा लगाइएको निषेधाज्ञाले मालवस्तुको आयात तथा कार्यालयको सेवा प्रभावित हुँदा राजस्वमा र्‍हास आएको बताए । वीरगंज नाकाबाट मुख्यतः पेट्रोलियम पदार्थ, सवारी साधन,रेडिमेड कपडा, गार्मेन्ट उद्योगका कच्चा पदार्थ, हार्डवेयर सामान, फूड स्टफ, चकलेट, फलाम, ट्रेडिङका सामानहरूको आयात ह्वात्तै घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here