प्रस, वीरगंज, ६ जेठ/
नारायणी अस्पतालमा बिहीवार तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले दुईजना महिला र एकजना पुरुष गरी बिहीवार दिउँसोसम्म तीनजना सङ्क्रमितको मृत्यु भएको बताए ।
आज मृत्यु हुने तीनैजना पर्सा जिल्लाबाहिरका हुन । बिहान पौने एक बजे मृत्यु भएका ५५ वर्षीय पुरुष सर्लाही जिल्ला मलङ्गवा नगरपालिका-५ निवासी हुन् । उनी सङ्क्रमित भएर नारायणी अस्पतालमा जेठ २ गते भर्ना भएका थिए । यसैगरी, रौतहट जिल्ला निवासी पूरा ठेगाना नखुलेको ४२ वर्षीया महिलाको आज बिहान साढे दश बजे मृत्यु भएको संयोजक डा दासले बताए ।
मृतक महिला जेठ ५ गते सङ्क्रमित भएकी र नारायणी अस्पतालमा आज मात्र भर्ना भएकी थिइन् । यसैगरी, सर्लाही जिल्ला मलङ्गवा नपा-१० निवासी ३१ वर्षीया महिलाको पनि आज बिहान ११ बजे मृत्यु भएको छ । मृतक महिला वैशाख २५ गतेदेखि सङ्क्रमित भएर नारायणी अस्पतालमा भर्ना भएकी थिइन् ।