प्रस, वीरगंज, २ जेठ/
वीरगंज महानगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरीब परिवारलाई निश्शुल्क भोजन गराउँदै आएका सङ्घ संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराएको छ ।

महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकामा निश्शुल्क भोजन गराउन चाहने सङ्घ संस्थाहरूलाई खाद्यान्न व्यवस्था गराउने घोषणा अनुसार निश्शुल्क भोजन गराउँदै आएका चारवटा संस्थालाई खाद्यान्न वितरण गरेका हुन् ।

नगरप्रमुख सरावगीले सानो पाइला संस्थालाई २८ बोरा चामल, ३५ किलो दाल र २८ लिटर खानेतेल, इम्प्रुभिङ वीरगन्ज संस्थालाई ७ बोरा चामल, ३५ किलो दाल र ५० लिटर तेल हस्तान्तरण गरेका थिए । त्यस्तै १०० ग्रुप नेपाल संस्थालाई १२५ किलो चामल, २५ किलो दाल र २१ लिटर खानेतेल तथा होटल रेल्वे कटेजलाई ३० बोरा चामल, २ बोरा दाल र ६० लिटर खानेतेल हस्तान्तरण गरेका थिए ।

वीरगंज महानगरमा निषेधाज्ञा लागू भएपछि बिहान बेलुका ज्यालादारी गरेर छाक टार्ने गरीब विपन्नलाई समस्या हुन नदिन समर्पण सेवा संस्थाको सहयोगमा साहिब दरबार सेवा संस्था, रेल्वे कटेज लगायतले १० दिनदेखि निरन्तर निश्शुल्क भोजन गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here