शहरमा त भित्र-बाहिर सबैतिरका मानिसको आवागमन हुने हुँदा परस्पर दूरीको मापदण्ड पालनामा लापरवाही भएर कोभिड-१९ को सङ्क्रमण बढ्यो, जुन समस्या गाउँघरमा त्यति सारो देखिंदैन । धनीसँग दाँजो गर्न गरीबले स्वाभिमान, इमानदारी, मूर्खले मूर्खता छोप्न रिस, निर्बलले बलियोलाई कराएर जित्ने प्रयास गर्छ, त्यसैगरी गाउँलेहरू आफूलाई जान्ने देखाउन शहरको विपरीत गर्न खोज्छन् । शहरमा मानिसहरू मास्क लगाएर घुम्छन्, हामीसँग इम्युन पावर छ भनेर गाउँले विनामास्क हिंडछन् । परस्पर दूरी आवश्यक छैन भन्ने उनीहरूले मान्यता नै बनाएका हुन्छन् । बापदादादेखि चलिआएको सामाजिक संस्कारमा अवरोध पुर्‍याउनुहुन्न । हामी शहरिया होइनौं, परम्पराको पालना गर्न किञ्चित पछि पर्दैनौं । यस्तै सोचले अहिले गाउँलाई कोरोनाको चपेटमा पार्न थालेको छ । गाउँ जहाँ स्वास्थ्य-चेतना छैन, गाउँ जहाँ अदक्ष चिकित्सकहरूको भीड छ, गाउँ जहाँ गतिलो सरकारी स्वास्थ्य केन्द्र छैन, भएकोमा चिकित्सक छैन, चिकित्सक छ भने औषधि छैन । मापदण्डविना औषधि पसल सञ्चालन भएका हुन्छन्, तिनले दिएको औषधि खाएर स्वस्थ रहने भ्रममा बाँचिरहेको गाउँमा कोरोनाले केके उपद्रो देखाउला, अब आउने दिनले देखाउने छ ।

हो, गाउँमा बाहिरको मानिस आएर कोभिड-१९ छिराउँदैन, तर गाउँकै मर्दहरू कमाउन विदेश त जान्छन् नै । ती यस्तो महामारीमा घर पनि फर्कन्छन् । तिनले सङ्क्रमण फैलाउन सक्छन् । गाउँले यत्तिका भयावह अवस्थामा पनि धूमधामका साथ बिहे, गाउँभरिलाई बटुलेर भोजभतेर, डिजेको तरङ्गमा गाउँलेलाई नचाउने सपना पालेरै बसेको छ । आज विदेश गएकाबाहेक गाउँका जवान रोजीरोटीको जोहो गर्न शहर पसेकै हुन्छन्, तिनीहरू शहरका मानिसको सम्पर्कमा आएका हुन्छन्, फर्केर गाउँले सबैसँग नभए पनि, परिवारसँग निर्धक्क टाँसिएकै हुन्छन् । एकजनालाई कोरोनाले छोयो भने अनेक सङ्क्रमित हुन पुग्छन् भन्ने हेक्का गाउँले राख्दैन । किनकि त्यहाँ अज्ञानता छ, शहरको देखासिकीबाट परहेज छ । गाउँमा कसैको बिहे, भोजभतेरमा नजाँदा ॅबात’ लाग्छ । गाउँमा अहिले पनि सामाजिकता घनीभूत छ । गाउँ एकल प्रयासमा चलेको छैन, पारस्परिक सहयोगमा चल्दछ । त्यसैले कोही बुद्धिमान छ भने पनि उसले गाउँमा सामान्य सचेतना पनि प्रकट गर्न पाउँदैन । त्यसैले अहिले के पर्सा, बारा वा रौतहट कुनैकुनै गाउँमा, कोरोना विस्फोट भएसरहको अवस्था छ । गाउँहरूलाई सिल गर्नुपर्ने अवस्था आइलागेको छ ।

तर गाउँले हठ जारी छ । धूमधामका साथ बिहे भइरहेको छ, डिजे बजिरहेको छ, त्यसको तालमा मानिस नाचिरहेका छन्, भोजभतेरमा झुम्मिएका छन् । गाउँबाट शहरमा तारन्तार फोन आइरहेको छ । लौ न, के गर्ने, कोरोनाले हामीलाई गाँज्यो। शहरका अस्पतालमा ठाउँ छैन, अस्पतालहरूमा अक्सिजन छैन । यस्तोमा लोभीपापीहरूले सञ्चालन गरेको अस्पतालहरूले ढाड भाँचिनेगरी शुल्क लिइरहेका छन् । ज्यान जोगाउन घर-खेत बेचेर पनि शहर आउन चाहनेलाई एम्बुलेन्स धनी र चालकहरूले लुटिरहेका छन् । यद्यपि गाउँमा शहरको तुलनामा रोग प्रतिरोधक क्ष्ँमता बढी छ, तर कति घरी ? कोभिडले त कस्ताकस्तालाई ढालेको छ । पहलवानदेखि खेलाडीसम्म यसको प्रकोपबाट जोगिन सकेका छैनन्। अब गाउँ सचेत हुनुपर्छ । स्थानीय सरकारहरू जनमुखी हुनुपर्छ र स्वास्थ्य सतर्कता अँगाल्न गाउँवासीलाई प्रोत्साहित गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here