माधव तिमिल्सिना ठोरी, १ जेठ/
करीब डेढ महीना पहिले निर्माण सम्पन्न नहुँदै भारतीय पक्षले अधूरो हुलाकी सडक हस्तान्तरण गर्दा ठोरीवासीले विरोध जनाए ।
चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण करीब ५ किलोमिटर सडक निर्माण बाँकी छँदै भारतीय पक्षले हात झिकेको र ठेकेदार कम्पनीले पनि ठेक्काको म्याद सकिएको भन्दै काम छाडेपछि ठोरीवासीले वनमन्त्री, भौतिक पूर्वाधार मन्त्री तथा प्रधानमन्त्री समेतलाई भेटेर सडक निर्माण सञ्चालन गर्न दबाब दिए । तर पनि हालसम्म सडक निर्माणको काम शुरू हुन सकेको छैन ।
एकातिर चितवन राष्ट्रिय निकुञ्जका कारण हुलाकी सडक अधूरो भएकोमा ठोरीवासी विरोधमा छन् भने अर्कोतिर निर्माण सम्पन्न भएकै सडक पनि वर्षा शुरू नहुँदै भत्कन थालेपछि सडक गुणस्तरीय नभएको स्थानीयको आरोप छ । ठोरी गापा-५ मा पर्ने चमरीहोलदेखि ठोरी गापा-१ मा पर्ने चौतारासम्मको ठेक्का सकारेको कालिका/बानियाँ निर्माण कम्पनीले करीब २५ किलोमिटर सडकमा कालोपत्रे गरेर लेन छुट्याउने रङसमेत लगाइसकेको छ । ठोरी क्षेत्रको लाइफलाइन मानिएको सडक मनसुन शुरू हुनु अगावै परेको वर्षामा भत्कन शुरू भएको छ ।
ठोरीको वनशक्तिनिर सडकको साइड सोल्जर बगाएर कालोपत्र सडक दब्न लागेको छ । यस्तै ठोरीमा सडक हस्तान्तरणको शिलालेख राखिएको अगाडि नै सडक छेउको सोल्जर बगाएर कालोपत्र सडकको केही भाग बगाउने अवस्थामा पुगेको छ । ठोरी गापा-३ मा रहेको ढुङ्गे बजार नजीकैको पुल छेउमा पनि उस्तै हालत छ ।
यसैगरी ठोरी गापा-४ को निर्मलबस्तीमा सडकको साइड सोल्जर बगाउनुको साथै कालोपत्रे सडकमा धाजा फाटेको छ । त्यस ठाउँमा समयमा मरम्मत हुन नसके जुनसुकै बेला सडक भासिएर दुर्घटना हुने सम्भावना छ । त्यसैगरी सबैजसो पुल वरपरको सोल्जरमा पानीले क्षति पुगेको छ ।
वैशाख महीनामा परेको झरीमा नै सडक भत्कन थालेपछि मनसुन शुरू भएपछि सडकको अवस्था झन् के हुने हो भनेर यहाँका मानिस चिन्तित बनेको विजयबस्तीका युवा पद्मबहादुर श्रेष्ठ बताउँछन् । उनले ठेकेदारले लापरवाही गर्दा सडक गुण्स्तरहीन भएको आरोप लगाए । काम छिटो सम्पन्न गर्ने बहानामा बेस बिछ्याउँदा लापरवाही गरिएको अर्का युवा होम श्रेष्ठको आरोप छ । ग्रेभल र बेस बिछ्याउने समयमा लापरवाही नगरेको भए आज सामान्य झरीमा सडक भासिने थिएन, उनीहरू भन्छन् ।
कालिका/बानियाँ जेभिका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले काम सम्पन्न गरेर सडक हस्तान्तरण भएपनि दुई वर्ष सडक मरम्मतको जिम्मा भएको बताए । उनले वर्षामा सोल्जर बगाएको ठाउँमा ग्रास प्लान्ट गरेर सडक संरक्षण गरिने बताए । यही जेठ ५ गतेदेखि ग्रास प्लान्ट शुरू गर्ने तयारी रहेको उनले बताए । उनले कालोपत्रे भत्केको सबै ठाउँमा वर्षाभरि हेरेर वर्षापछि सबैतिर मरम्मत गरिने बताए ।
हुलाकी सडक आयोजना, वीरगंजका प्रमुख द्वारिकाप्रसादले हुलाकी सडकको ठेक्का माथिबाट नै लाग्ने र ठेक्काको शर्तबारे आफूलाई जानकारी भएको बताए ।