प्रस, वीरगंज, १ जेठ/
कोरोना महामारीको दोस्रो चरणको सङ्कटको बेला मिर्गौला पीडितहरूको समस्या बढेको छ । शुक्रवार आदर्श मिश्रा नाम गरेका युवकले यस्तो समस्याबारे सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा एउटा भिडियो अपलोड गर्दै प्रदेश २ मा मिर्गौला पीडितहरूको बेहाल अवस्थाबारे समस्या पोखेका छन् । उनले आफ्ना बुवा मिर्गौला पीडित भएको र कोरोना सङ्क्रमित भएपछि निकै दुःख भोगेको गुनासो गरेका छन् ।

बुवालाई डायालासिस गर्न नेशनल मेडिकल कलेजमा लगेको पिसिआर परीक्षण रिपोर्ट ल्याए मात्र डायालासिस गर्ने भनेर अस्पतालले उपचार नगरेको बताए । त्यसपछि नारायणीमा सोर्स पहुँच लगाएर बुवाको डायलासिस गराएको उनले बताए । उनले नारायणीमा कोरोना सङ्क्रमित मिर्गौला पीडितको लागि डायलासिसको व्यवस्था गरिएको तर प्राविधिक जनशक्तिको अभाव रहेको बताए । अहिलेको बेला प्राविधिक अभाव हुनु अनि सङ्क्रमित सङ्ख्या बढिरहेको बेला सङ्क्रमितहरूका लागि एक मात्र डायलासिस मेशिन सञ्चालन गर्दा अप्ठेरो बेर्होनुपरेको उनले बताएका छन् । एउटा मात्र मेशिन सञ्चालनमा रहेकोले सङ्क्रमित मिर्गौला पीडितलाई डायलासिस गर्न समस्या भइरहेको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा. सरोजरोशन दास स्विकार्छन् ।

उनले दुईवटा मेशिनमध्ये एउटा मेशिन बिग्रेको र दिनमा ४/५ जना सङ्क्रमितको डायलासिस हुने गरेको बताए ।

वीरगंजमा हुन्छ डायालासिस

वीरगंजका दुईवटा अस्पतालमा नन कोभिड मृगौला पीडितहरूको डायलासिस सेवा हुने गरेको छ ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र वीरगंज हेल्थकेयरमा प्रदेश २ का विभिन्न जिल्लाका बिरामीहरूका लागि डायलासिस गर्ने स्थानीय प्रशासनले निणर्य गरेको छ । यी दुई अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका मिर्गौला पीडित पालोमा बसेर डायलासिस गराउँदै आएका छन् । नेशनलमा ११ वटा मेशिन सञ्चालनमा छ ।

बिहान ७ बजेदेखि राति ११ बजेसम्म दैनिक ३० देखि ३५ जना मिर्गौला पीडितहरूलाई सेवा दिइरहेको नेशनल मेडिकलका मेडिकल निर्देशक डा. प्रमोद सरार्फले बताए । उनले पिसिआर परीक्षणपछि मात्र डायलासिस गरिने बताए ।
त्यहाँ ११० जना मिर्गौला पीडित रहेकामा ४६ जना अहिले क्यूमा रहेको उनले बताए । सरकारले यहाँ डायलिसस गराउने प्रतिबिरामी रु २५ सय दिने गरेको छ ।

वीरगंज हेल्थ केयर अस्पतालमा पाँचवटा मेशिनबाट डायलासिस सेवा दिने गरेको र यो अस्पतालमा १० जना बिरामीको डायलासिस भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here