राधेश्याम पटेल, ३० वैशाख/
कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको मुलुकको प्रमुख प्रवेशद्वार वीरगंजबाट पछिल्लो समय पर्सा र बाराको ग्रामीण भेगतिर सङ्क्रमण फैलिने सङ्केत देखिएको छ ।
चिकित्सकका अनुसार पर्सा र बाराको टाढाका गाउँबाट सयौंको सङ्ख्यामा ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर बिरामीहरू वीरगंज आइरहेका छन् । पर्साको पश्चिमी क्षेत्र जगरनाथपुर गाउँपालिकामा पनि कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको पुष्टि भइसकेको छ ।
सो गाउँमा पछिल्लो ११ दिनमा १० जनाको मृत्यु भएपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालय, पर्सा सक्रिया भएको छ । गापाको स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालय पर्सालाई पत्र लेखेर ज्वरो तथा रुघाखोकी भएका बिरामी पत्ता लगाउन र उपचारको लागि वीरगंजबाट स्वास्थ्यकर्मी माग गरेपछि मङ्गलवार करीब एक दर्जन स्वास्थ्यकर्मी जगरनाथपुर गापा–५ चिलझप्टी पुगेको थियो । समूहले तीनवटा टोली बनाएर ज्वरो रुघाखोकीको बिरामीको तथ्याङ्क सङ्कलन गरेपछि एउटै गाउँमा १७८ जना बिरामी भेटिए । सबैलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालमा भेला गरी स्वास्थ्य मापदण्ड पालना गरी ११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजना सङक्रमित पुष्टि भएका थिए ।
त्यसपछि २५ जना शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरी नारायणी अस्पताल वीरगंजमा ल्याइएकोमा बुधवार परीक्षण गर्दा जम्मा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर गाउँमा सङ्क्रमण पुष्टि भएकोले स्थानीय प्रशासनले उक्त गाउँ सिल गर्न प्रहरी चौकी जानकीटोलालाई निर्देशन दिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी गराए ।
“जिल्लाभरि निषेधाज्ञा छ, उक्त गाउँमा बिरामी भेटिएपछि स्थानीय प्रहरी चौकीलाई गाउँमा कसैलाई पस्न र गाउँबाट बाहिर जान निषेध गर्न निर्देशन दिएका छौ”–उनले भने–“गाउँमा हुने विवाह भोज तथा अन्य सामूहिक जमघटले पनि चुनौती थपिएको छ । उनले गाउँमा हुने सबैखाले भीडमाथि निषेध गरिएको र गाउँलेलाई सोबारे सचेत गराइएको बताए ।
आवश्यक खाद्यान्न तोकिएको समयमा निर्धारित मापदण्डबाट पूर्ति गर्न सुझाइएको बताए ।
ग्रामीण भेगमा सतर्कता अपनाउन चिकित्सकको जोड
वीरगंजपछि पर्सा–बाराको ग्रामीण भेगमा कोरोना सङ्क्रमण फैलिने सङ्केत देखिएपछि चिकित्सकहरूले उच्च सतर्कता अँगाल्न आग्रह गरेका छन् ।
नारायणी अस्पताल वीरगंजका डा. उदयनारायण सिंहले डेढ साताभित्र वीरगंजमा कोरोना सङ्क्रमण मत्थर हुने र ग्रामीण भेगमा तीव्र गतिमा फैलिने बताएका छन् । उनले अबको दश दिनपछि वीरगंज जोखिम र चुनौतीपूर्ण अवस्थाबाट मुक्त हुने तर यहाँको उच्च सङ्क्रमणको त्रास गाउँ पुग्ने चेतावनी दिए । उनले यसबारे स्थानीय तह र सम्बन्धित निकायलाई सतर्क हुन सुझाव दिएका छन् । सङ्क्रमणको दर उच्च हुन सक्ने भन्दै उनले स्थानीय तहलाई आइसोलेशन, कोभिड अस्थायी अस्पतालको तयारीमा जुट्न आग्रह गरे । तयार नहुने स्थानीय तहले यसको जोखिम बेहोर्नुपर्ने उनले चेतावनी दिएका छन् ।