सञ्जय साह मित्र
अहिले ज्यादै कठिन परिस्थिति छ । अझ यो परिस्थिति कठिन हुने अनुमान गरिंदै छ । अहिले डा. रवीन्द्र पाण्डेयको यो भनाइ धेरै भाइरल भएको छ ः“आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर सङ्क्रमित छन् भनेर निस्कनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुन पानी÷स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौं ।३ हप्ता दुःख सह्यौं भने सङ्क्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।”
विगतमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मी र अस्पतालहरूले यस किसिमको चेतावनी दिएका थिए कि संयम राखौं र सम्भव भएसम्म कोरोनाको सङ्क्रमण कम गर्न निरन्तर सावधान रहौं । समाजले मान्दै मानेन । आज अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको छ, जटिल बन्दै गइरहेको छ । अहिले समय कतिसम्म जटिल भइसकेको छ भने धेरै गाउँमा बिरामीको सङ्ख्या अत्यन्तै बढेको छ ।
वास्तवमा गाउँको जीवन निकै सरल छ, त्यसैले बरु शहरमा यस किसिमको सङ्क्रमण रोक्न सचेत प्रयास गर्न सकिन्छ तर गाउँमा निकै कठिन हुन्छ । गाउँका अधिकांश मानिसले पशुपालन गरेका हुन्छन् । पशुको लागि घाँस लिन जानुपर्छ तथा पशुलाई चराउन लैजानुपर्छ । यसै गरी पशुलाई एकै ठाउँमा बाँधेर राख्न पनि सजिलो हुँदैन । पशुको गोबरको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय पशुले दूध दिन्छन् । त्यसको आफ्नै थप झन्झट हुन्छ । दूध व्यवस्थापन वा दहीको व्यवस्थापन गर्नुपर्छ । गुजुमुज्ज परेको बस्ती हुन्छ । हरेक घरमा तुलनात्मक रूपमा ठूलो परिवार हुन्छ । बालबालिकाहरू घरबाहिर खेल्न निस्केका हुन्छन् । सबैलाई घरभित्र राखिराख्न कठिन हुन्छ । बिहान र बेलुका पाँच सात जना मानिस एक ठाउँमा भेला भएर कुराकानी गर्ने प्रवृत्ति हुन्छ । यो प्रवृत्तिभन्दा पनि संस्कृति हो । अझ गाउँघरमा भोजको पनि एउटा संस्कृति छ । यसरी जटिल सामाजिक संरचनामा रहेको सरल स्वभावका ग्रामीण एक अर्काका निकै नजीक हुन्छन् र अहिलेको अवस्थामा जुन समुदाय परस्पर नजीक हुन्छ, त्यहाँ सङ्क्रमणको खतरा बढी हुन्छ । सम्भवतः पर्साको बहुदरमाईमा आशङ्का गरिएको सङ्क्रमण यसै प्रकृतिको हुनुपर्छ ।
गाउँघरमा अहिले पनि एउटा भनाइ छ– मर्दहरू घरमा कोच्चिएर बस्न सक्दैनन् । अर्थात् घरमा बस्नु पुरुषार्थ होइन । पुरुषहरू घरमा बसिरहनु लाजमर्दो कुरो हो । लाजको विषय हो । यस किसिमको भनाइ यदि कोही पुरुषलाई गाउँका मानिसले अझ अरू कोहीलाई सुन्नेगरी भन्दछन् भने, जसलाई भनिएको हो, उसमा उत्तेजना आउँछ र घरबाहिर निस्कन्छ । सामाजिक सम्पर्कमा आउँछ । अर्को पनि के प्रवृत्ति हुन्छ भने फलानो त दिनदिनै बाहिर निस्कन्छ, उसलाई केही भएको छैन, म बाहिर निस्कँदा के भइहाल्छ ? कतिपयले भनि पनि दिन्छन्– म त दिनदिनै बाहिर निस्किरहेको छु, बजार गइरहेको छु, सबैतिर पुगिरहेको छु, सबै काम गरिरहेको छु, खोइ मलाई केही भएको छैन १ तिमी भने घरैमा लुकेर बसेका छौ । जो धेरै डराउँछ, उसैलाई समस्या हुन्छ । यस प्रकारका अभिव्यक्तिले पनि घरबाहिर निस्कन मानिसलाई कर लाग्छ ।
अहिले कतिपयले आफू डुलिरहेको फोटो पनि सार्वजनिक गर्दछन् । फोटोले अरूलाई पनि घरबाहिर निस्कन प्रोत्साहित गरेको हुन्छ । यस विषयतिर ध्यान नै पुगिरहेको हुँदैन ।
अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । हरेक दिन देशमा सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पतालहरूमा अस्तव्यस्तता देखिएको समाचारहरू पनि आइरहेका छन् । आखिर अस्पतालको पनि क्षमता हुन्छ । अस्पतालले पनि कस्तो किसिमको बिरामी कति धान्ने भन्ने समस्या हुन्छ । यदि कुनै गाउँ र ठाउँमा एकैचोटि धेरै मानिस एकै किसिमको समस्याबाट पीडित हुन्छन् भने त्यहाँ स्वास्थ्य टोली पुगेर उपचार गर्न सकिन्छ तर यदि गाउँका गाउँ र शहरका शहर तथा जिल्लाका सयौं मानिसमा एक साथ र हरेक दिन एकै किसिमको समस्या हुन थाल्छ भने त्यति बेला अस्पतालले तत्काल क्षमता बढाउन सक्दैन र सबै बिरामीलाई एक साथ भर्ना पनि लिन सक्दैन । अहिलेको अवस्था झन्डै यस्तै भएको छ कि अस्पतालहरूमा कोरोना सङ्क्रमित अत्यधिक छन् र दुर्भाग्यको विषय पनि छ कि सङ्क्रमण निरन्तर बढ्दो छ ।
अहिले निषेधाज्ञा उल्लङ्घन गरेर पुरुषार्थ गर्नेले कुनै राजनैतिक आन्दोलनको समयमा जस्तो केही पाउनेवाला छैन । राजनैतिक आन्दोलनको समयमा हुने निषेधाज्ञा र अहिलेको निषेधाज्ञामा धेरै फरक छ । अहिलेको निषेधाज्ञा जनताको लागि हो । सबैको स्वास्थ्यको लागि हो । अहिले त निषेधाज्ञालाई जसले नियम र निष्ठापूर्वक पालन गर्दछ, उही पुरुषार्थी कहलाउँछ । उही सभ्य कहलाउँछ । असल नागरिक कहलाउन पनि निषेधाज्ञाको पालन जरूरी छ । धेरैजना बाहिर निस्के भन्दैमा आफू पनि उत्साहित भएर, उत्तेजित भएर बाहिर निस्कने नै होइन । अरूलाई पनि घरभन्दा बाहिर निस्कन प्रोत्साहित गर्ने काम सम्भव भएसम्म गर्नु हुँदैन । यो समयको माग हो र अहिलेको अनुशासन हो । आफूलाई घरभित्रै सीमित राख्न सक्नुलाई आत्मानुशासित ठान्नुपर्छ । मर्यादित ठान्नुपर्छ ।
कहिलेकाहीं महाभारतको एउटा सन्दर्भ आउने गर्छ । कसैले कृष्णलाई सोधेछ–यदि ज·लमा आगलागी भयो भने कुन जीवले आफूलाई बचाउन सक्छ ? कृष्णले जवाफ दिएछन्–यताउति उफ्रिने, दौड्ने तथा शान्त भएर बस्न नसक्ने कुनै पनि जीव बाँच्न सक्दैन, जुन जनावरलाई लाग्छ कि म कतै भाग्न सक्दिनँ, दुलोमैं लुकेर बस्छु, उही बाँच्न सक्छ, किनभने आगलागीको समयमा दुलोभित्र लुकेर बस्नेले नै धैर्य गर्न सक्छ । हो धैर्य गरेर बस्नेले नै महामारी पनि जित्न सक्छ भन्ने माथिको मिथकले पनि सन्देश दिएको छ । वास्तवमा कठिन समयमा हुनुपर्ने दैनिकीलाई अन्य सामान्य अवस्थाको जस्तो मान्नुहुँदैन । महामारीको समय आफैं विशिष्ट समय रहेकोले यस समयमा जोगिनुपर्ने कुरालाई बढी प्राथमिकता दिनुपर्छ ।
नेपाली समाजमा पहिलेदेखि नै एउटा उखान प्रचलित छ–रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाती । अर्थात्, रोग लाग्न नदिने उपाय गर्नुलाई पनि हाम्रो समाजले पहिलेदेखि नै बुझेको रहेछ । अहिलेको समयमा सबैतिरबाट मानिसलाई घरभित्र रहन भनिएको छ । घरभित्र रहनको लागि सबैतिरबाट मानिसलाई आग्रह गरिएको छ । के भनिएको छ भने घरभित्र रहँदा कोरोना भाइरसको सङ्क्रमणको शृङ्खला टुट्छ किनभने यो एक मानिसबाट अर्को मानिसमा सर्ने गर्दछ र यसरी सर्नका मानिस–मानिसबीच सम्पर्क हुनुपर्छ । यस कारण सम्भव भएसम्म मानिस मानिसबीच दूरी बनाउनु आवश्यक छ । यो दूरी बनाउन सबैभन्दा सजिलो उपाय हो, घरभित्रै रहनु । र, अहिलेको अवस्थामा घरभित्रै रहनुलाई नै पुरुषार्थ भन्नुपर्छ । वास्तवमा अबको समयमा यो पनि सामाजिक सञ्जालमा लेख्नु आवश्यक देखिन्छ कि कति दिनदेखि घरमा छु । घरमा कसरी समय बितिरहेको छ । कसरी केटाकेटी घरभित्र रमाइरहेका छन् र कसरी अझ धेरै दिन घरभित्रै बस्न सकिन्छ १ समयको मागलाई निकै गम्भीरतापूर्वक लिएर घरभित्रै बस्ने नयाँ रेकर्ड कायम गरेको पुरुषार्थपूर्ण कुरा सगर्व सार्वजनिक गर्दा धेरैले पछ्याउँछन् पनिर संयमित स्वभावका मानिसलाई घरभित्रै बस्न प्रोत्साहन मिल्छ । त्यस्ता मानिस जो चञ्जल प्रकृतिका छन्, तिनलाई घरभित्रै बस्न प्रोत्साहन मिल्ने वातावरण बनाऔं ।