प्रस, वीरगंज, २८ वैशाख/

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुर सम्पर्कविहीन बनेका छन्। कोरोना महामारीको बेला अस्पतालको अवस्था नाजुक बन्दै जाँदा र दैनिक  ५ जनासम्मको ज्यान ज्यान गइरहेको अवस्थामा उनले आफ्नो मोबाइल स्वीच अफ राख्ने गरेका छन्।

अस्पतालको सेवा प्रभावकारी बनाउनुपर्ने जिम्मेवारी पाएका मेसु ठाकुरमाथि पछिल्लो समय वीरगंजमा केन्द्र सरकारले दिएको पहिलो चरणको १५० थान रेम्डिसिभिर इन्जेक्शन लुकाएको पनि आरोप लागेको थियो। उनले अस्पतालको निमित्त मेसुको जिम्मेवारी पूर्व मेसु डा. एनामुल हकलाई र अस्पतालका प्रवक्ताको जिम्मेवारी डा. सरोज सिंहलाई दिएका छन्।

तर अस्पतालमा जनशक्ति भर्ना, अक्सिजन आपूर्ति, औषधी खरीद तथा अन्य उपकरणको जोहो समयमा हुन नसक्दा सबैथरीका बिरामीहरूले समस्या भोग्ने गरेका छन्। नारायणी अस्पतालमा चारवटा एक्सरे मेशिन रहे तापनि हाल एउटा मोबाइल डिजिटल एक्सरे मात्र सञ्चालनमा रहेको बताइएको छ। कोरोना सङ्क्रमितका अनुसार अस्पतालको एक्सरे मेशिन बिग्रेको कारण सङ्क्रमतिलाई बाहिर लगेर एक्सरे गराउनुपर्ने समस्या आएको छ।

एउटै डिजिटल एक्सरेबाट सबै सङ्क्रमितको सेवा गर्दा समय लाग्ने भएकोले पनि कतिपय सङ्क्रमितका कुरुवाहरूले बाहिरबाट एक्सरे गराउने गर्दा अस्पतालबाट नै सङ्क्रमण फैलने खतरा बढेको छ। हाल नारायणीले १२५ कोरोना शय्याको अस्पतालको रूपमा सेवा दिंदै गरे पनि करीब १०५ जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. सरोज सिंहले एक्सरे मेशिन बिग्रँदा समस्या भइरहेको स्वीकार गरे। उनले काठमाडौंबाट प्राविधिक बोलाइएको तर निषेधाज्ञाको कारण आउन नसक्ने भएपछि मरम्मतका लागि काठमाडौं पठाइएको बताए। उनले केही दिनमा सबै एक्सरे सञ्चालनमा आउने बताए। उनले एउटा एक्सरेले भार थेग्न समस्या भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here