वीरगंजका अस्पतालमा पनि अक्सिजन अभाव

प्रस, वीरगंज, २८ वैशाख/

वीरगंजका विभिन्न अस्पतालमा अक्सिजनको अभाव शुरू भएको छ। सङ्क्रमितको चाप बढ्न थालेको र हरेक अस्पतालमा अक्सिजन खपत बढ्न थालेपछि अक्सिजनको अभाव शुरू भएको अस्पतालहरूले जनाएका छन्।

वीरगंज हेल्थकेयर अस्पतालका सञ्चालक डा. अबुलैस अन्सारीका अनुसार वीरगंजमा केही दिन यता अक्सिजनको अभाव शुरू भएको हो। उनको आफ्नै अक्सिजन प्लान्ट रहे पनि आफ्नो अस्पताल र अन्य दुर्ई अस्पतालको लागि अक्सिजन पर्याप्त उत्पादन हुन नसकेको बताए।

“अस्पतालहरूमा दैनिक अक्सिजन सिडिन्डरको खपत बढेको छ, उत्पादन पुरानै अवस्थमा छ, त्यसैले अभाव सृजना हुँदै गएको हो”–उनले भने–“अक्सिजन उपयुक्त बिरामीलाई मात्र दिनुपर्छ, कतिपय अस्पतालमा बिरामीका कुरूवाहरूले ५–५ वटा सिलिन्डर कब्जा गरेर राखेकाले पनि अक्सिजनको अभाव देखिएको छ।

वीरगंजमा अहिले नारायणी, नेशनल मेडिकल कलेज, वयोधा अस्पताल, तराई हस्पिटल, एडभान्स, वीरगंज हेल्थकेयर, गण्डक, इन्नडोनेपाल, एलएस न्युरो अस्पताल, अलि अर्थाे ट्रमा सेन्टर, अपोलो अर्थाे ट्रमा सेन्टरलगायत एक दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन्। तर वीरगंजमा मात्र तीनवटा अक्सिजन प्लान्ट छ। नेपालकै पुरानो अक्सिजन प्लान्ट परवानीपुरमा ज्योति समूहको हिमाल अक्सिजन प्रालि सञ्चालनमा छ। २४ घण्टामा दैनिक ६ सय सिडिन्डर क्षमता रहेको उक्त उद्योग अहिले पूर्णरूपमा सञ्चालनमा छ। तर बजारको मागलाई धान्न नसकेको कर्मचारहीहरूले बताएका छन्।

त्यसैगरी वीरगंज हेल्थकेयर हस्पिटलका सञ्चालक डा. अबुलैस अन्सारीले नेशनल अक्सिजन प्रालि बहुअरी वीरगंजबाट पनि अक्सिजन उत्पादन गरिरहेका छन्। उनका अनुसार पहिले २४ घण्टामा ५ सय सिलिन्डर बिक्री हुन्थ्यो, अहिले दैनिक एक हजार सिलिन्डर उत्पादन गरे पनि बजारको अभाव टार्न सकिएको छैन । त्यसैगरी परवानीपुर प्रहरी चौकी नजीकै रामबाबू रौनियार सञ्चालक रहेको मधु अक्सिजन प्रालिले पनि दैनिक ६ सय सिलिन्डर उत्पादन गरिरहेको छ। दैनिक ८ सय सिलिन्डरको माग रहे तापनि कर्मचारी र सिलिन्डरको अभावको कारण ६ सय सिलिन्डर मात्र उत्पादन भइरहेको बताए। उनका अनुसार अक्सिजन सिलिन्डर समयमा अस्पतालबाट फिर्ता नआउँदा सिलिन्डर फिलिङमा समस्या भइरहेको छ।

प्रजिअ भन्छन्–बाहिर पठाएपछि अभाव सृजना

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वीरगंज कोरिडोरका उद्योगहरूले पर्सा–बारा बाहेक जिल्लाका अस्पतालमा अक्सिजन पठाउन थालेपछि समस्या उत्पन्न भइरहेको बताए। “मैले पनि सुनिरहेको छु,अक्सिजन हेटौडा, भरतपुर, बुटवल, भैरहवा, जनकपुर गइरहेको छ”–उनले भने–“मिटिङ राखेर सहज आपूर्तिको व्यवस्थापन मिलाउँछु।”

अक्सिजन उद्योगका मजदुर झनै त्रसित र जोखिममा

अक्सिजन उद्योगका कर्मचारी तथा मजदुर त्रसित छन्। उनीहरूले स्वास्थ्य मापदण्डको पालना गरे तापनि केही उद्योगका कर्मचारी बिरामी परेपछि त्रास फैलन थालेको हो।

हिमाल अक्सिजन प्रालिका केही कर्मचारी बिरामी परेर होम ओइसोलेशनमा छन्। मधु अक्सिजनका सञ्चालक रौनियार पनि होम आईसोलेशनमा रहेको बताउँछन्। अस्पतालमा अक्सिजन ढुवानी गरेर लैजाँदा अस्पतालले उद्योग कर्मचारीको स्वास्थ्यको ध्यान नदिंदा र आइसियु कक्षबाट पनि सिलिन्डर फिर्ता ल्याउँदा उद्योगका कर्मचारीमा कोरोना सङ्क्रमण फैलिने त्रास बढेको उनीहरूको भनाइ छ।

अस्पतालले अक्सिजन ओसारपसार गर्ने कर्मचारी पर्याप्त मात्रामा नखटाएको र अक्सिजन उद्योगकै कर्मचारीमाथि ओसारपसार गर्ने जिम्मेवारी थपिएकोले उनीहरू त्रसित बनेका छन्।

उद्योगका कर्मचारीहरूलाई अस्पतालले कुनै प्रकारको स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध नगराउँदा सङ्क्रमित हुने सम्भावना बढेको उद्योग प्रशासनको आरोप छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्