प्रस, पर्सागढी, २८ वैशाख/

पर्सागढी नगरपालिकामा अहिले निजी क्लिनिकहरू धमाधम कमाइ गर्दैछन्। कोरोना सङ्क्रमणको कारण रूघाखोकी, ज्वरो लागेका मानिस उपचारको लागि वीरगंज जान डराएको र नगरपालिकामा भएको स्वास्थ्य चौकीहरूबाट उपचार सम्भव नभएको हुनाले निजी क्लिनिकहरूमा उपचार गराउन बाध्य भएका छन्।

पर्सागढी नगरपालिकामा डेढ दर्जनको हाराहारीमा निजी क्लिनिक छन्। तीन वर्षे कोर्ष गरेका अहेबहरूले औषधि पसल सञ्चालन गर्दै आएको र अहिलेको मौसममा उनीहरूको क्लिनिक जोडतोडका साथ चल्दैछ। नगरपालिकाको वडा नं. ३ बडनिहार, वडा नं. १ मनवा र वडा नं. ६, ७ को बागेश्वरी तित्रौनामा बढी सङ्ख्यामा निजी क्लिनिकहरू छन्।

नगरपालिकाका सबै वडामा अहिले भाइरल ज्वरो, रूघाखोकीबाट ग्रसित मानिसहरू छन्। उनीहरू स्वास्थ्य केन्द्रमा कम, निजी क्लिनिकमा बढी जाने गरेका छन्। स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने औषधिले निको नभएको हुँदा निजी क्लिनिकमा उनीहरूको आकर्षण बढेको हो। यस अघि बिरामी भएपछि यहाँका मानिस वीरगंज धाउने गरेका थिए तर वीरगंजका अस्पतालहरूमा एन्टिजेन परीक्षण र पिसिआर गरेपछि मात्र बिरामीहरूको उपचार हुर्ने हुँदा यहाँका मानिसहरू वीरगंज जान छाडेका छन्। निजी क्लिनिकहरूमा रूघाखोकी, ज्वरोका बिरामीहरूलाई सात दिने औषधि चलाउने गरिएको छ। यसको अलावा एन्टिबायोटिक औषधिबाट उपचार गरिंदै आएको एकजना बिरामीले बताए। एक सातासम्म उपचार हुँदा निको नभएपछि क्लिनिकहरूले वीरगंज जान सल्लाह दिए पनि बिरामीहरू घरमैं बस्ने गरेको पाइएको छ।

प्रत्येक वडामा अहिले ठूलो सङ्ख्यामा यस्ता बिरामी छन्। वडा नं. ४ बर्वाटाँडी, बकनेर्वामा मात्र ११० घरधुरीभन्दा बढीका मानिस भाइरल ज्वरो, रूघाखोकीबाट ग्रसित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here