जलेश्वर, २८ वैशाख/रासस
महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा आज आमाको मुख हेर्ने दिन बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ।
वैशाख कृष्ण औंसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो लागेको छ। धनुषा जिल्लासँग जोडिएको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थानले पौराणिक एवं धार्मिक महत्व बोकेकोले यहाँ हजारौं महिला पुरुष दर्शनका लागि आउने गरेको स्थानीयवासी नरेन्द्र यादवले बताए।
आमा, बुवा नभएकाले यस स्थानलाई आफ्ना आमाबुवाको सम्झनाको केन्द्र बनाउने गरेका छन्। आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको स्थानीय राजाराम रायको भनाइ छ।
रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारले तिर्खाएका अन्धाअन्धी आमाबुबालाई बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजीकै महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र आफ्ना छोरा मरेको सुनेर आमाबुबा पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्बदन्ती छ।
अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो। सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण र संवद्र्धनका लागि कुनै पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयको गुनासो रहेको छ।