काठमाडौं, २५ वैशाख/रासस
दोर्दी खोलामा निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ।
आयोजना निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ। यस आयोजनाले बिहीवारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरू गरिरहेको छ।
त्यस्तै, पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायत अधिकांश निर्माण कार्य सम्पन्न भएको आयोजना साइट इन्चार्ज ज्ञवालीको भनाइ छ। हालसम्म पनस्टेकको ७०० मिटरमध्ये ७० मिटर काम गर्न बाँकी छ। तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुड्ढो सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको आयोजना साइट इन्चार्ज ज्ञवालीले बताए। उनले भने– “यतिबेला कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेको छ, तर आयोजनामा कोभिडको असर नपरेमा आगामी असारभित्र आयोजनाबाट बिजुली उत्पादन गर्नेछौं, विसं २०७२ फागुनबाट निर्माण शुरू गरिएको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो, तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पु–याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको हो।”
पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्म निर्माण सक्ने सम्झौता गरे पनि सो अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो। सो समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि विसं २०७६ पुस महीनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो। सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि गत चैतसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन।
यसरी पटकपटक निर्माणको म्याद थप गर्दै अघि बढेको यस आयोजनाले अब भने निर्धारित समयमैं काम सम्पन्न गर्ने जनाएको छ। आयोजनाको अधिकांश काम सम्पन्न भइसकेकाले हाल १५० कामदारले मात्र काम गरिरहेका आयोजनाले जनाएको छ। आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेंसीशहर नगरपालिका–११ रामचोक बेंशीमा विद्युत् गृह रहेको छ। शुरूमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिंदै गएकाले रु चार अर्ब ६४ करोडसम्म खर्च हुन सक्ने आयोजनाको अनुमान छ। यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ३५.७, आइएमई ग्रुपको ३४.३ र ३० प्रतिशत सर्वसाधारणको लगानी छ।
नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजनाका अनुसार सुक्खायाममा आठ रुपियाँ ४० पैसा र वर्षायाममा चार रुपियाँ ८० पैसामा विद्युत् खरीद सम्झौता भएको छ।