प्रस, रौतहट, २४ वैशाख/
जिल्ला प्रशासन कार्यालय, रौतहटले शुक्रवारदेखि रौतहटमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिशको आधारमा प्रशासनले वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञामा स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्तिबाहेकका अन्य सबै निकाय र सेवालाई निषेध गरिएको छ भने एम्बुलेन्स, शववाहन, वारुणयन्त्रलगायत सवारीपास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ।
विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारलगायत कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
रौतहटमा २१५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १० जनाको ज्यान गएको छ।