प्रस, वीरगंज, २४ वैशाख/
वीरगंज महानगरपालिकामा कोरोना सङ्क्रमितहरू होम आइसोलेशनमा बस्न रूचाइरहेका छन्।
पहिलो चरणमा सङ्क्रमितहरूलाई सीधैं अस्पतालमा भर्ना गरिंदै आएकोमा अहिले सङ्क्रमितहरूको सही तरीकाबाट सोधखोज पनि भइरहेको छैन। सङ्क्रमितहरू अलि बढी अस्वस्थ भएपछि आफैं अस्पताल जाने र भर्ना हुनेबारे आवश्यक परामर्श लिइरहेका छन्। अहिले वीरगंजमा कोरोना सङ्क्रमितका लागि नारायणी अस्पतालमा ९० शय्या, नेशनल मेडिकल कलेजमा १७० शय्या, वीरगंज हेल्थकेयरमा २५ शय्या, नारायणी वयोधा अस्पतालमा १५ शय्या र वीरगंज महानगरपालिकाले शुक्रवारदेखि सञ्चालनमा ल्याएको २ सय शय्या सञ्चालनमा छन्। त्यसमध्ये नारायणी अस्पताल, वयोधा र वीरगंज हेल्थकेयरका सबै शय्या सङ्क्रमितले भरिएका छन्।
१७० शय्याको नेशनल मेडिकल कलेजमा अहिले पनि एक सय शय्या खाली छ। वीरगंज महानगरपालिकाले आजदेखि सञ्चालनमा ल्याएको सय शय्याको आइसोलेशन र सय शय्याको कोभिड अस्पतालमा पहिलो दिन ५ जना पनि भर्ना भएनन्। जबकि होम आइसोलेशनमा अहिले करीब १८ सय मानिस छन्।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजले विजयज्योति होटलमा १७ शय्याको सशुल्क आइसोलेशन सञ्चालनमा ल्याएको छ। त्यहाँ पनि चारजनाभन्दा बढी छैनन्। सङ्क्रमितहरू सामान्य अवस्थामा घरमैं बसेर निको हुँदैछन् भने अलि बढी अस्वस्थ हुने मात्रै अस्पताल जाँदैछन्।
यसअघि चिकित्सकीय सेवा कमजोर भएको र कोरोनाको औषधि नभएको कुरा बुझेका सङ्क्रमितहरू घरमैं बसेर प्राथमिक उपचार लिंदैछन्। अस्पताल वा सशुल्क होटलमा शय्या खोज्नेहरूले आक्सिजन र चिकित्सकीय सेवाको बारेमा बुझ्ने गरेका र सो सेवा प्रवाह भएको ठाउँमा मात्र भर्ना हुने गरेका छन्। अहिले अस्पतालहरूमा आक्सिजन सेवालाई बढी प्राथमिकता दिइएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि मात्र सङ्क्रमितहरू घरबाहिर सेवा लिन गइरहेका छन्।