प्रस, वीरगंज, २४ वैशाख/
वीरगंजका वरिष्ठ उद्योगपति रामऔतार खण्डेलवालको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। रौतहट, गौर स्थायी घर भएका ८२ वर्षीय उद्योगपति खण्डेलवालको उपचारको क्रममा बिहीवार साँझ ६ बजे नारायणी वयोधा अस्पतालको आइसियूमा मृत्यु भएको हो। केही दिनदेखि अस्वस्थ रहँदै आएका उनको बिहीवार दिउँसो श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
एन्टिजेन परीक्षणमा उनी सङ्क्रमित देखिएका थिए। उनी करीब ६ दशक पहिले गौरबाट वीरगंज बसाइँ सरेर वीरगंजमा उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका थिए।
उनको परिवार दाल मिल, बोरा कारखाना तथा औषधि व्यवसायमा संलग्न छ। वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्षसमेत रहेका खण्डेलवाल सक्रिय व्यवसायी तथा समाजसेवी थिए।