प्रस, निजगढ, २३ वैशाख/

                नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै ढिलै भएपनि बिहीवारबाट लागू हुनेगरी नियन्त्रण आदेश जारी गरेसँगै बारा प्रहरीको ठाउँ–ठाउँमा सक्रियता बढेको छ।

                जिल्ला कोभिड विपद् व्यवस्थापन समिति (DCCMC) बाराको हिजो २२ गते बसेको बैठकद्वारा गरिएको निर्णय जिल्ला प्रशासन कार्यालय बाराद्वारा सार्वजनिकरूपमा जारी गर्दै सबैलाई पालना गर्नुहुन अनुरोधसमेत गरिएको      छ।

                नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणका कारण बारामा अहिलेसम्म ४ महिला र १० पुरुष गरी १४ जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आज मात्र एकै दिनमा ९१ जना सङ्क्रमित पुष्टि भएको जनाइएको छ। हालसम्म सङ्क्रमितको सङ्ख्या ५२५ जना रहेको छ भने आइसोलेशनमा ३४ जना, होम आइसोलेशनमा ४९१ जना रहेका छन्। ५ जना प्रहरी कर्मचारीसमेत सङ्क्रमित रहेको जिप्रका बाराले जनाएको छ। सङ्क्रमितमध्ये ७ जना कोरोनालाई जितेर घर फर्केका छन्।

                पहिलो कोभिडका कारण बारामा ७ महिला र २६ पुरुष गरी ३३ जनाले ज्यान गुमाएका थिए। नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण डरलाग्दोरूपमा फैलिन थालेसँगै उच्च स्वास्थ्य सुरक्षा अपनाउन जनस्वास्थ्य केन्द्रीय कार्यालय काठमाडौंले सबैलाई अपील गरेको छ।

                थप सङ्क्रमण फैलिन नदिन बारा प्रशासनले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाहरूमा सचेतना सन्देश प्रवाह गर्दै कम्तीमा १५ शय्याको क्वारेन्टाइन तत्कालै सञ्चालनमा ल्याउन निर्देशनसमेत दिएको छ। सार्वजनिक सवारीसाधनहरूमा रोक लगाउने, अनावश्यक हिंड्डुल गर्न रोक लगाउने, अति आवश्यकबाहेकका सरकारी कार्यालयहरू बन्द गर्ने, अति आवश्यक औषधिपसलबाहेक अन्य पसल, व्यवसायका हकमा शनिवारबाहेक अन्य दिनका लागि बिहान ६ देखि ११ बजेसम्म मात्र पसल, व्यवसाय, खोल्न सकिने तर स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्नेलगायतका निर्देशन सार्वजनिक गरेको छ।

                विद्यालय, विवाह, पार्टी, सेमिनार हल, सभाहलमा जमघट हुने जस्ता कार्य भने एक साताअघिबाट नै रोक लगाइसकिएको छ। निजगढका निजी तथा सामुदायिक विद्यालयहरूले एकै दिनमा दुईदेखि चारवटा परीक्षा लिने तयारी गरिरहे पनि स्थानीय नागरिकको दबाबका कारण परीक्षा स्थगित गर्नुपरेको थियो। महामारीको रूपमा सङ्क्रमण फैलिरहे पनि विद्यालयहरूको गतिविधिमा रोक नलगाएको भन्दै स्थानीय तह निजगढ नगरपालिकाको समेत स्थानीयहरूले आलोचना गर्न शुरू गरेका थिए।

                सो निर्देशनको पालना नगर्ने दर्जनौं साना सवारीसाधनहरूलाई निजगढ प्रहरीले चेतावनीस्वरूप केही घण्टा रोकेर छाडेको थियो। निर्देशनलाई बेवास्ता गरेको पाइए कडा कारबाही शुरू गर्ने निजगढ प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here