काठमाडैं, २३ वैशाख/रासस
कोभिड–१९ को भेरिएन्ट विश्वव्यापी रूपमा फैलिरहेका अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी कोरोना सङ्क्रमित भएका छन्। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधवारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ।
यस अघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ।
अदालतले सो अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदनबाहेक अरू सुनुवाइ नगर्ने निर्णय गरेको हो। अदालतले कारबाई तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हद म्याद, म्याद र तारेख नगुज्रने जनाएको छ।