नितेश कर्ण, वीरगंज, २१ वैशाख/

                वीरगंजमा सङ्क्रमितहरूको लागि  खोलिएको चारवटा अस्पतालमा कोभिड सङ्क्रमितहरूको भर्ना दर बढ्दो छ।

                दैनिक डेढ सयको हाराहारीमा नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट सङ्क्रमित थपिदै गएको क्रममा महानगरमा रहेका चारवटा अस्पतालमा सङ्क्रमितहरू बढिरहेका हुन्। नारायणी अस्पतालमा हाल ९० शय्या कोभिड सङ्क्रमितहरूको लागि छुट्याइएको छ। अहिले सबै शय्या भरिएका छन्।

                अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले आइसियुमा आठजना, एचडियुमा ८५ जना भर्ना भएको बताए। उनले शय्याभन्दा बढी बिरामी भर्ना भएको बताए।

                नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा अहिले ६७ जना भर्ना छन्। १७० शय्याको यो अस्पतालमा ६७ जना भर्ना भएका र बिरामी आउने क्रम जारी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद सर्राफले बताए। उनले भर्खरै कोरोना विशेष अस्पताल सञ्चालनमा आएको र बिरामीको चाप बढ्दै गएको बताए। कोरोना विशेष अस्पतालको आइसियुमा २२ जना भर्ना छन्।

                यसैगरी भर्खरै सञ्चालनमा आएको वीरगंज हेल्थकेयरमा २० जना सङ्क्रमित भर्ना भएका छन्। अस्पतालका सञ्चालक डा अबुलेस अन्सारीले २५ शय्याको कोभिड सेवा शुरू गरिएकोमा २० जना भर्ना भएको र तीमध्ये पाँचजना भेन्टिलेटर, चारजना आइसियुमा भर्ना भएको उनले बताए।

                यसैगरी नारायणी वयोधा अस्पतालमा १५ शय्या कोभिड सङ्क्रमितको लागि छुट्याइएको र सबै शय्या भरिभराउ भएको बताइएको छ। चैतको पहिलो सातादेखि पर्सा जिल्लामा सङ्क्रमितहरू देखिन थालेका र वैशाखको शुरूआतदेखि दैनिक सयभन्दा बढी सङ्क्रमित थपिन शुरू भएको हो। अहिले २२ सयभन्दा बढी सङ्क्रमित पुष्टि भइसकेका छन् भने यो अवधिमा करीब ३८ जनाको मृत्यु भइसकेको छ। गत वर्षको कोरोना कालमा ५३ जनाको मृत्यु भएको थियो। यसपटक मृत्यु दर बढेको छ। यसैगरी सङ्क्रमित सङ्ख्या पनि बढ्दै छ। सङ्क्रमित सङ्ख्या बढे पनि अस्पतालभन्दा होम अFइसोलेशनमा बस्नेहरूको सङ्ख्या बढी छ। एक हजारको हाराहारीमा अहिले होम आइसोलेशनमा रहेको थाहा हुन आएको छ। यद्यपि सङ्क्रमितहरूको सही तथ्याङ्क कुनै पनि निकायसँग छैन।

                कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले पनि यससम्बन्धी तथ्याङ्क उपलब्ध गराउन सकेको छैन। नारायणी अस्पतालसँग त्यहाँको मात्र तथ्याङ्क छ। अन्यत्रको तथ्याङ्क स्वास्थ्य कार्यालय पर्साले पनि उपलब्ध गराउन सकेन। सबै निकायमा भिन्दाभिन्दै तथ्याङ्क छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here