काठमाडौं, २० वैशाख/रासस

                स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (आक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ।

                मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै आक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि आक्सिजन आवश्यक पर्ने भएकोले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

                उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको सिलिन्डर समयमैं भर्नसमेत आग्रह गरेका छन्। साथै मन्त्रालयले सर्वसाधारणलाई आक्सिजन सिलिन्डर अनावश्यकरूपमा जोखिमपूर्ण तरीकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधि हुन नदिनसमेत आग्रह गरेको छ।

                नेपालमा अहिले देशभरका ३० अस्पतालमा आक्सिजन प्लान्ट जडान गरिएका छन्। ती अस्पतालबाट दैनिक दुर्ई हजार ५४९ सिलिन्डर भर्न सकिने क्षमता रहेको मन्त्रालयले जनाएको छ। केही अस्पतालमा लिक्युड आक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ।

                उनका अनुसार अहिले अस्पतालसँग छ हजारभन्दा बढी र आक्सिजन विक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ। नेपालमा आक्सिजन ग्यास प्रशस्त भएपनि आक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here