काठमाडौं, १८ वैशाख/रासस

      नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरू अझै पनि मास्क नलगाइ हिंड्डुल गर्न छाडेका छैनन्।

      नेपाल प्रहरीका अनुसार मानिसहरूले जान्दाजान्दै पनि लापरवाहीपूर्वक मास्क नलगाइ हिंड्ने गरेको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाइ हिंड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिंड्ने शर्तमा छाडिएको छ।

      स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्यरूपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरवाही भने कायमै छ। सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभरि गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ र अभियानका क्रममा १० हजार ७९४ जनालाई निश्शुल्क मास्क वितरण गरिएको छ। नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारीसाधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा सेनिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here