प्रस, वीरगंज, १७ वैशाख/
जिल्ला जनगणना कार्यालय, वीरगंजले हिजोदेखि शुरू गरेको सुपरीवेक्षक तालीम स्थानीय बासिन्दा, राजनीतिक दल तथा सञ्चारकर्मीको दबाबपछि स्थगित गरेको छ।

२०७८ सालको जनगणनाको लागि पर्साका १४ वटा स्थानीय तहबाट छनोट भई आएका १५६ जनालाई तालीम दिइरहेको अवस्थामा स्थानीयले अवरोध गरेपछि अन्ततः जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार तालीम स्थगित गरिएको हो।

निषेधाज्ञा अवधिमा आवतजावत लगायत भेला, गोष्ठी, समारोह, बिहे, भोजभतेर गर्न नपाइने तर नेपाल सरकारकै अङ्ग रहेको जनगणना विभागले कार्यक्रम गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको थियो। स्थानीय प्रशासनले कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्दसँगै सम्पूर्ण परीक्षा रद्द गरेको अवस्थामा गोप्य हिसाबले तालीम दिइरहेको सूचनाको आधारमा सञ्चारकर्मीको टोली पुगेपछि प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको निर्देशनमा तालीम स्थगित भएको थियो। कार्यालय प्रमुख केशव ज्ञवालीले स्थानीय प्रशासनसँग अनुमति लिई तालीम सञ्चालन गरेको बताए।

यस विषयमा प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वास्थ्य सुरक्षा मापदण्डभित्र रही अति आवश्यक परेको खण्डमा काम गर्न सकिने मात्र आफूले निर्देशन दिएको बताए। तर सो ठाउँमा स्वास्थ्य मापदण्ड पालना नगरी तालीम दिइरहेको थियो। स्थानीयले हिजोदेखि विरोध गरे पनि तालीम नरोकिएपछि आज सञ्चारकर्मीलाई जानकारी गराएपछि दबावस्वरूप तालीम स्थगित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here