नितेश कर्ण, वीरगंज, १७ वैशाख/
पर्सा जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै आइसोलेशन शय्या बढाइएको छ। नारायणी अस्पतालमा ९० शय्या, नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा १७० शय्या र नारायणी वयोधा अस्पतालमा १५ शøया कोरोना सङ्क्रमितका लागि आइसोलेशन कक्ष बनाइएको छ।
यसबाहेक सबै निजी अस्पताललाई कुल शय्याको २० प्रतिशत आइसोलेशन निर्माण गर्न यसअघि नै कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको थियो।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्साका अस्पतालहरूमा ७७ जना सङ्क्रमित रहेको बताए। उनले वयोधामा १४, नेशनल मेडिकल कलेजमा १८, नारायणी अस्पतालमा ३७ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी गराए। उनले हालसम्म ८ जना चिकित्सक सङ्क्रमित भएको र उनीहरूको उपचार भइरहेको बताए। चैतदेखि वैशाखसम्म १३ सय ३५ जना सङ्क्रमित भएको र १ हजार ६८ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए। यसमध्ये २६७ जना घर फर्केको र ९ सय ९१ जना होम आइसोलेशनमा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी गराए।