प्रस, वीरगंज, १७ वैशाख/
नारायणी अस्पतालमा बिहीवार राति र शुक्रवार बिहान गरी तीनजना सङ्क्रमितको मृत्यु भएको छ भने १७५ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बिहीवार बेलुकी र शुक्रवार बिहान गरी २ महिलासहित ३ जनाको मृत्यु भएको बताए।
वीरगंज–३ छपकैयाकी एकजना ४७ वर्षीया महिलाको बिहीवार राति साढे ९ बजे निधन भएको थियो। उनी अस्पतालमा वैशाख १४ गते भर्ना भएका हुन्।
यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिका–२४ निवासी ७७ वर्षीय पुरुषको पनि बिहीवार राति सवा ११ बजे निधन भएको छ। उनी अस्पतालमा वैशाख १० गते सङ्क्रमित भएर भर्ना भएका थिए।
वीरगंज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रवार बिहान पौने २ बजे निधन भएको प्रवक्ता डा दासले बताए। उनी वैशाख १२ गते सङ्क्रमित भएपछि अस्पताल भर्ना भएकी थिइन्।
यसैबीच, बिहीवार राति २८८ जनाको स्वाब परीक्षण गरिएकोमा १७५ जना सङ्क्रमित पुष्टि भएको प्रवक्ता डा दासले बताए।
शुक्रवार बिहान सङ्क्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, सर्लाहीका ५ जना, रौतहटका ३ जना र महोत्तरी तथा दैलेखका १/१ जना छन्। सङ्क्रमित हुनेहरूमा ४४ जना महिला १३१ जना पुरुष छन् भने उनीहरूको उमेर १० देखि ७२ वर्षको छ र उनीहरूमा १४.२ देखि ३५.२ सम्म सिटी भ्यालू रहेको प्रवक्ता डा दासले बताए।
पछिल्लो २४ घण्टामा नारायणी अस्पतालमा २० जना भर्ना भएका, ८ जना घर फर्केका र ४ जनाको मृत्यु भएको बताइएको छ।