प्रस, वीरगंज, १५ वैशाख/
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीवार बिहान ४ बजेदेखि निषेधाज्ञा जारी गरेको कारण वीरगंज महानगरलगायत पर्सा जिल्लाका ग्रामीण क्षेत्रका बजारहरूमा बुधवार किनमेल गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको थियो।
प्रशासनले एक साता लामो निषेधाज्ञा जारी गरेको कारण बजारमा आवश्यक सामानहरू खरीद गर्नका लागि मानिसहरूको बिहानदेखि पसलहरूमा भीड लागेको थियो। खासगरी खाद्यान्न, आलु, प्याज किनमेलमा मानिसहरूको भीड थियो। वीरगंजमा सिजनबाहेक अन्य समयमा आलु, प्याज भारतबाट भित्रिन्छ। रु १२० पसेरी (५ किलो) आलु निषेधाज्ञाको कारण रु १६० मा बिक्री भयो। प्याजको मूल्य पनि रु २२० पसेरीबाट रु २५० गरिएको छ।
खाद्यान्नका सामानहरू पनि मनपरी ढङ्गले बढाइएको छ। एक साताको लागि निषेधाज्ञा जारी गरेपछि वीरगंज बजारमा आज अचाक्ली भीड रह्यो।
मुस्लिम समुदायको इद पर्वको कारण पनि किनमेल गर्नेहरूको भीडसँगै निषेधाज्ञामा सामानको जोहो गर्नेहरूको भीड पनि उत्तिकै रह्यो। मुस्लिम समुदायले इद पर्वसम्म निषेधाज्ञा लम्बिने सम्भावनालाई देखेर हिजैदेखि किनमेलमा व्यस्त थिए।