नचिताएको परिणाम देखा परिहाल्यो। पहिलो झम्टामा पराजित ठानिएको कोरोना (कोभिड १९) ले दोस्रो हमला सुनियोजित तरीकाले ग–यो। जब हामी पोस्ट–कोभिड काल मनाउँदै थियौं, यो सुटुक्क पस्यो र मौन–त्रासमा बाँच्न विवश पारिदियो। मौन–त्रास यस कारण कि सबै सङ्क्रमितको मनमा यो विश्वास छ कि अलि सतर्क रहन सकेको भए, कोरोनाले छुन सक्दैनथ्यो। धेरै मानिसमा, खोप लगाइसकेको हुनाले, आत्मविश्वास निकै बढेको थियो। कोरोनाले भारतमा ताण्डव–नृत्य देखाइरहँदा पनि हामी हर्ड इम्युनिटी विकसित भएको भ्रममा बाँचिरह्यौं। अब त कोरोनाको विस्तार समुदायमा भन्ने कुरा पनि रहेन। अहिले समुदाय होइन, घरघरमा कोरोना पुगेको छ। शक्तिशाली प्रतिरोधक क्ष्Fमता भएका व्यक्ति थला परेका छैनन्, कुरा त्यति मात्र। मौसम परिवर्तन र कोरोनाको आगमन एकैसाथ भएकोले पनि शरीरमा देखिएको परिवर्तन मौसम परिवर्तनको परिणाम हो कि कोरोनाको, खुट्याउन गा–हो भएको छ। यो स्वाभाविक हो। मूल कुरा कुनै महामारी नहोस् भन्ने चिताउने मात्र हो, रोक्न सकिने होइन।

रोग देखा परेपछि प्रतिरोध र उपचार मात्र गर्ने हो। उपचारको नाममा आज जुन गतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, त्यस गतिमा उपचार–संसाधनको जोहो हुन सकेको छैन। अस्पतालहरूमा ठाउँ छैन, ठाउँ बनाइए पनि पर्याप्त मात्रामा आइसियु तथा भेन्टिलेटरको व्यवस्था छैन। नेपालको हकमा त कतिसम्म हास्यास्पद निर्णय गर्नुपरेको छ भने कोरोना सङ्क्रमितहरूलाई अक्सिजन आवश्यक भनेर अक्सिजन खपत गर्ने कारखानाहरू नै बन्द गर्नुपर्ने सरकारी आदेश आएको छ। एक किसिमले कुरा ठीकै पनि हो, ज्यानभन्दा ठूलो केही छैन। जेजे गरेर हुन्छ, पहिलो अभीष्ट कोरोना हराउनु हो। तर बितेको एक वर्षदेखि भोग्दै आएको कोरोनाको त्रासबाट हामीले केही सिक्न सकेनौं। कोरोनाले मानिसको ज्यानैमाथि धावा गरेकोले मात्र हो, अन्यथा हामी यसलाई सामान्यरूपमा नै लिने थियौं। कोरोनाभन्दा बढी अन्य कारणले बर्सेनि मानिसको ज्यान गइरहेको छ। तर त्यो कारणको प्रभाव तत्काल देखिंदैन। कोरोनाबाट तत्काल मृत्यु हुन्छ। त्यसैले यसको भयावहता झाङ्गिएको हो। दुर्घटनामा पनि तत्काल मृत्यु हुन्छ, तर त्यो दुर्घटना अरूसँग पनि अवश्यमेव हुन्छ भन्ने छैन। कोरोनाले एकजनाको मृत्यु भएको छ भने अरू सङ्क्रमितको पनि हुन्छ भन्ने कुराले भयावहता बढेको छ।

कोरोनाको अगाडि कुनै पुरुषार्थले काम गरिरहेको छैन। किनभने हामी सामान्यस्तरबाट कुनै युद्ध जित्ने कुरामा विश्वास गर्दैनौं। हामीलाई ठूलै संसाधन, ठूलै पुरुषार्थ चाहिन्छ। पहिलेदेखि नै दोहो–याइँदै आएको कुरा हो, साबुन–पानी, मास्क र यथोचित दूरी। तर यति ठूलो बैरीविरुद्ध जाबो यो रणनीति अङ्गीकार गर्न हामी तयार छैनौं। पिपिई लगाएर शहर–बजार घुम्न बाध्य बनाइन्थ्यो, ठूलो नारा–जुलूस लगाएर कोरोना भगाउन पाइन्थ्यो भने हाम्रो अहम् तुष्ट हुने थियो। विकराल कोरोनालाई हराउन जाबो संसाधनस हाम्रो मानसिकता नै तयार छैन, यस्तो अनिवार्यता पालन गर्न। यद्यपि आज ठूलो सङ्ख्यामा मानिस सङ्क्रमित भइरहेका छन्, हिजोभन्दा धेरै मानिसको आज दुई महीनामा मृत्यु भइसकेको छ, तर खोई हिजोको भयावहता ? आज कोही भयभीत छैन, त्यसैले कोरोनाले विस्तार पाइरहेको छ। कम्तीमा सामाजिक दूरी कायम राख्ने चेतमा हामीमा आओस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here