प्रस, वीरगंज, १२ वैशाख/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सूचना जारी गर्दै आइतवारदेखि सञ्चालित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएका छन्।
कोभिड सङ्क्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षासमेत विद्यालयस्तरीय सबै परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि स्थगित गरिएको जानकारी गराएका छन्।
वीरगंज महानगरपालिकाले कक्षा १ देखि ५ सम्म यसअघि नै स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्न निर्देशित गरेको थियो भने कक्षा ६ देखि माथिका कक्षाको आजदेखि परीक्षा सञ्चालनको मिति तोकेको थियो।
परीक्षा शुरू भएको भोलिपल्टै परीक्षा स्थगित गरिएकोमा निजी विद्यालयहरूले भने महानगरको कदम त्रुटिपूर्ण भएको भनी आक्रोश व्यक्त गरेका छन्।
निजी विद्यालयहरूले कोभिडसम्बन्धी सुरक्षा र स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा लिइरहेकाले कोभिड सङ्क्रमणको विषय बनाएर परीक्षा स्थगित गरिनु महानगरको गलत कदम भएको प्रतिक्रिया दिएका छन्।
परीक्षा सञ्चालनको अनुमति नदिनुपर्ने र दिएर परीक्षा सञ्चालन भइसकेको अवस्थामा स्थगित गरिनु बुद्धिमतापूर्ण कार्य नभएको निजी विद्यालयहरूको प्रतिक्रिया छ।