प्रस, वीरगंज, ११ वैशाख/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शनिवार साँझ ९० जना सङ्क्रमित पुष्टि गरेको छ।
अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले १४० जनाको पिसिआर परीक्षण गर्दा ९० जना सङ्क्रमित पुष्टि भएको बताए। सङ्क्रमित पुष्टि भएकामा पर्साका ६५, बाराका २२ र रौतहटका ३ जना छन्।
सङ्क्रमित पुष्टि भएकामध्ये ६६ जना पुरुष र २४ जना महिला छन्। उनीहरूको सिटी भ्यालु १४ देखि ३४ रहेको प्रवक्ता डा दासले बताए।
वीरगंजमा एकजना सङ्क्रमितको मृत्यु
वीरगंजमा थप एकजना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज–१३ का ५३ वर्षीय पुरुष रहेका छन्। गएराति १२ः१० बजेको समयमा उनको गण्डक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी गराए।
एक सातादेखि उपचार चलिरहेको ती पुरुषको वैशाख ६ गते नारायणी अस्पताल वीरगंजस्थित पिसिआर प्रयोगशालामा स्वाब परीक्षण गर्दा सङ्क्रमित देखिएको थियो।
श्वासप्रश्वासमा समस्या तथा निमोनियाका कारण उनको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।