प्रस, परवानीपुर, ११ वैशाख/
शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा प्रथम त्रिशक्ति सिमेन्ट परवानीपुर गोल्डकप शनिवारदेखि शुरू भएको छ। वीरगंज–२१ परवानीपुरको खेलमैदानमा शुरू भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले गरेका थिए।

प्रतियोगिता उद्घाटनपछि उनले प्रदेश सरकार प्रदेश २ को खेलकूद विकासको लागि प्रतिबद्ध रहेको बताए। उनले परवानीपुर खेलकूद मैदान ऐतिहासिक मैदान भएको र करीब एक दशकदेखि बन्द रहेको फूटबल प्रतियोगिता परवानीपुरमा हुनुले खुशी लागेको बताए। उनले कोरोना महामारी जस्तै रोग व्याधिलाई खेलकूदले टाढा भगाउने तथा आजको तनावको युगमा शारीरिक व्यायाम तथा खेलकूद अहम् भएकोमा उनले जोड दिए। खेलाडी राष्ट्रको गहना भएकाले स्थानीयस्तरमा खेलाडीको सम्मान र खेल्ने अवसर सृजना भएमा खेलाडी उत्पादन गर्दै देशका लागि खेलकूदले फड्को मार्ने उनको भनाइ थियो।

उद्घाटन खेलमा वीरगंज युथ क्लबले नेपाल फूटबल सङ्घ रौतहटलाई १ गोलअन्तरले पराजित गरेको थियो। खेल शुरू भएको १५औं मिनेटमा डिबक्सभित्र आदित्य शाक्यले दिएको पासलाई श्रीजन शाक्यले गोलमा परिणत गरेका थिए। त्यसपछि रौतहटले गोल फर्काउन कडा परिश्रम गर्दासमेत गोल फिर्ता गर्न सकेन। त्यही एक गोल नै निर्णायक गोल बनेको थियो।

आइतवार अपराह्न ४ बजे धनुषा र वीरगंज युनाइटेडबीच हुने आयोजकले जनाएको छ। वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश २ का ६, बर्दिबास एपिएफ र हेटौंडा फूटबल एकेडेमी गरी ८ वटा टीमको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद राशिसहित पुरस्कार पाउँछन्।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं ४ का सङ्घीय सांसद एकबाल मियाँ, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, वीरगंज महानगर वडा नं २१ का अध्यक्ष हबिब मियाँ, वडासदस्य जतनराउत कुर्मीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here