प्रस, गरुडा, ११ वैशाख/
शहरी विकासमन्त्री प्रभु साहले पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको बीचमा वैकल्पिक मध्यतराई लोकमार्गको रूपमा विकास गर्ने सम्भावनासहितको गरुडा–कटहरिया–मलाही–गंजभवानीपुर–कलैया–वीरगंज रूटको एक खण्डको शिलान्यास गरेका छन्।

चालू आर्थिक वर्षको बजेटमा गरुडा–वीरगंज सहायक राजमार्ग नाम दिइएको र ८ करोड रुपैयाँ विनियोजनसमेत गरिएकोमा पहिलोचोटि यस सडकको औपचारिक शिलान्यास गरिएको छ। बाराको मलाहीदेखि रौतहटको कटहरिया खण्डसम्म अत्यन्तै खराब रहेको र जनस्तरबाट नयाँ स्वरूपमा सडक निकालिसकिएको सन्दर्भमा शहरी विकास मन्त्रालयबाट सडकको स्तरोन्नति र उच्च गुणस्तरको कालोपत्रे गर्ने गरी शनिवारबीच रौतहटको सन्तपुरमा शिलान्यास गरिएको छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मलाहीदेखि कटहरियासम्मको ६ किमी ६१० मिटर लम्बाइको ११ मिटर चौडा सडकमा ७ मिटर कालोपत्रे हुने गरी सम्झौता भएको मितिले एक वर्षमा काम सम्पन्न गर्ने गरी १९ करोड ९८ लाख १४ हजार ७९८.४४ रुपैयाँको टेन्डर आह्वान गरिसकेको छ। चालू आवमा ८ करोड रुपैयाँ मात्र विनियोजन गरिएको भएपनि मन्त्रालयले सडकको अवस्था देखेर सर्वे गराइ लगत इस्टिमेट बनाएर तत्काल काम अगाडि बढाउने गरी करीब बीस करोड रुपैयाँ लागतको टेन्डर आह्वान गरिसकेको छ। अन्तिम चरणमा टेन्डरको प्रक्रिया रहेकोले समयमैं र गुणस्तरीय काम गराउन सडक डिभिजन कार्यालय अत्यन्त गम्भीर भएर लाग्ने कार्यालय प्रमुखले बताए।

सडकको निर्माण र सडकको बाँकी भागको काम पनि आगामी आवमा पूरा हुने सङ्केत मन्त्री साहले गरेका छन्। गरुडासम्म सडक बन्ने सम्पूर्ण पूर्वाधार तयार भइसकेको र गरुडालाई समनपुरसित जोड्दै वाग्मतीमा पुल निर्माण हुनासाथ बरहथवासित पनि जोडिने बताएका छन्। गरुडालाई मध्य सर्लाहीसित जोड्न वाग्मती नदीमा दुईवटा पुल निर्माणको अन्तिम अवस्थामा रहेकाले सर्लाहीका अधिकांश नागरिकलाई वीरगंज आवतजावत गर्न मध्यतराई लोकमार्ग सुन्दर विकल्प बन्न लागेको मन्त्री साहले बताए।

महेन्द्र राजमार्ग जङ्गलैजङ्गल र हुलाकी राजमार्ग सीमा भएर गएकाले मध्यतराई लोकमार्गको परिकल्पना गरी सानोसानो खण्डमा विभिन्न चरणमा आफ्नो नेतृत्वमा काम भएको र अब चार जिल्लालाई जोड्ने मध्यतराई लोकमार्गको रूपरेखा तयार भइसकेको मन्त्री साहको भनाइ छ।

सडक सञ्जालले स्थानीयको पहुँच विस्तार हुने भएकोले काठमाडौंलाई तराईसित जोड्ने द्रुतमार्गसित सीधा हुने गरी भारतको सीमासम्म सन्तपुर भएर नै सडकको सम्पूर्ण पूर्वाधार आफ्नो नेतृत्वमा तयार भइसकेकोले द्रुतमार्गको निर्माण पूरा हुनासाथ भारत र नेपाल दुवैतिर नयाँ भन्सारको स्थापना हुने तथा भारतसितको व्यापारमा पनि रौतहटले फड्को मार्ने बताएका छन्।

साना र ठूला सयकडौं सडकको सञ्जाल खडा गरेको जानकारी गराउँदै साहले हरेक गाउँलाई राजमार्गसित जोड्ने काममा शहरी मन्त्रालय लागिपरेको पनि बताएका छन्। सडक र नाला निर्माणमा नागरिकको चाहनाबमोजिम विकास भइरहेको भएपनि केही प्रतिक्रियावादीले अनेक बहानामा रोक्ने काम गरिरहेका तर अहिलेसम्म जनताकै सहयोगको कारण प्रतिक्रियावादी सफल नभएको मन्त्री साहले बताए।

नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यलाई पूरा गर्न शहरी मन्त्रालयले हरेक किसिमले लागेर पूरा गरिरहेको बताउँदै मन्त्री साहले अबको समय विकासमा सबैले सहयोग गर्नुपर्ने भएको बताए।
शुक्रवार मात्र गरुडा नगरपालिकाको वडा नं ५, ६ र ७ मा सडक तथा नालाका विभिन्न सञ्जालको करीब रु २० करोडको लागतमा हुने योजनाको शिलान्यास भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here