प्रस, वीरगंज, १० वैशाख/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितहरूलाई दिइने सेवाहरूप्रति पनि कमीकमजोरी र लापरवाही बढ्न थालेको छ।
सङ्क्रमितहरूलाई अहिले नारायणी अस्पताल र नारायणी वयोधा अस्पतालमा मात्र भर्ना लिइँदैछ। दुवै अस्पतालमा सङ्क्रमितका लागि आरक्षित शøया कम भएकोले अहिले सङ्क्रमितहरू घरमैं बस्न बाध्य छन्। सङ्क्रमितको सङ्ख्या बढेका कारण उनीहरूलाई समयमा सूचित गरिने, स्वास्थ्य सल्लाह दिइने र उनीहरूको अवस्था बुझ्नेजस्ता कार्यमा पनि लापरवाही भइरहेको छ। वीरगंज महानगर–३ का एकजना सङ्क्रमितले आफू सङ्क्रमित भएको सूचना साथीभाइबाट पाएको तर वीरगंज महानगरपालिकाले भोलिपल्ट मात्र सूचित गरेको बताए। उनले महानगरपालिकाबाट आएको फोनमा कुरा गर्ने व्यक्तिले तपाईं सङ्क्रमित हुनुभयो, नडराउनुस्, घरमैं बस्नुस्, १४ दिनपछि निको हुन्छ भनी आश्वासन दिएर फोन राखेको र त्यसपछि फेरि कसैको फोन नआएको बताए। उनले स्वास्थ्यसम्बन्धी समस्या आइपरेको खण्डमा कसलाई सम्पर्क गर्नेबारे पनि कुनै जानकारी नगराइएको बताए।
वीरगंज–११ श्रीपुरका सङ्क्रमितले पनि आफूलाई साथीभाइबाट पहिलो सूचना आएको र पछि मात्र महानगरपालिकाले जानकारी गराएको बताए। उनले पनि स्वास्थ्यसम्बन्धी सरसल्लाह बेलाबेलामा कोसँग कसरी लिने भन्नेबारे कुनै जानकारी नगराएको र समस्या पनि नबुझेर घरमैं बस्न सल्लाह दिएको बताए।
वीरगंज महानगर–११ रानीघाटका सङ्क्रमितले वीरगंज महानगरपालिकाबाट सूचना प्राप्त भएको र जनस्वास्थ्य कार्यालयले पनि स्वास्थ्यसम्बन्धी चासो देखाएको बताए। उनले आफू सामाजिक कार्यकर्ता भएको कारण जनस्वास्थ्यले चासो देखाएको हुन सक्ने बताए। उनले पनि स्वास्थ्यसम्बन्धी समस्यामा आफूले जानेको चिकित्सकसँग सल्लाह लिएर औषधिसेवन गर्दै आइरहेको बताए। सङ्क्रमित घोषित हुनुअघि रुघा लागेको, घाँटी खसखसाएको, कमजोरी भएको र ज्वरो लागेपछि पिसिआर परीक्ष्Fण गराएको उनले बताए।
यी तीनजना उदाहरणको रूपमा मात्र प्रस्तुत गरिएको हो। वीरगंज महानगरपालिकाले सङ्क्रमितहरूलाई सूचना दिन १६ जनाको युनिट बनाएको छ। केस इन्भेस्टिगेशन एन्ड कन्ट्याक्ट टे«सिङ (सिआइसिटी) युनिटले सङ्क्रमितहरूलाई सूचित गर्ने, उनीहरूको पारिवारिक विवरण सङ्कलन गर्ने र स्वास्थ्यसम्बन्धी सरसल्लाह दिने कामको जिम्मेवारी पाएको छ। युनिटमा रहेका १६ जना स्वास्थ्यकर्मी हुन् तर उनीहरूले अहिले आफ्नो जिम्मेवारीलाई पूरा गरेको पाइएको छैन।
नारायणी अस्पतालमा ३० जनाभन्दा बढी सङ्क्रमितको लागि शøया छैन। आइसियू, आइसोलेशनमा ३० जना सङ्क्रमितको लागि व्यवस्था छ भने शङ्कास्पदहरूको लागि १७ शøया व्यवस्थापन गरिएको छ।
अस्पतालमा शøया नभएको कारण वीरगंज महानगरपालिकाको सिआइसिटी युनिटले घरमैं बसेर स्वास्थ्यलाभ गर्न सुझाव दिंदै आएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा पछिल्लो समय दैनिक ७० जनाभन्दा बढी मानिस सङ्क्रमित पुष्टि हुँदै आएका छन्।
हालसम्म करीब ६ सयजना सङ्क्रमित पुष्टि भएका छन् भने नारायणी अस्पतालमा ६ जना र वयोधा अस्पतालमा २ जना गरी ८ जनाको मृत्यु भइसकेको छ। पर्सा जिल्लाभरिमा सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या ७ जना पुगिसकेको छ। एकजनाको मृत्यु चितवनमा भएको हो। यसअघि पहिलो कोरोनाकालमा ५३ जनाको मृत्यु भएको थियो।
एकजना सङ्क्रमितको मृत्यु
नारायणी अस्पतालमा थप एकजना सङ्क्रमितको शुक्रवार मृत्यु भएको छ।
अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले जीतपुरसिमरा उपमहानगर–७ निवासी ४० वर्षीय पुरुषको आज अपराह्न साढे ४ बजे निधन भएको जानकारी गराएका छन्। मृतक यही वैशाख ८ गते सङ्क्रमित भएका थिए। वैशाख ६ गते अस्पतालमा भर्ना भएका उनको पिसिआर रिपोर्ट ८ गते पोजिटिभ आएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र आज उपचारको क्रममा उनको मृत्यु भएको डा दासले बताए। योसमेत चैतयता दोस्रो चरणको कोरोनामा नारायणी अस्पतालमा ७ जनाको मृत्यु भइसकेको छ।