राधेश्याम पटेल, परवानीपुर, १० वैशाख/
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजले पछिल्लो ९ महीनामा करीब रु एक अर्ब राजस्व असुली गरेको छ।
सो कार्यालयले चालू आवको गत साउनदेखि गत चैत मसान्तसम्म ९९ करोड ४३ लाख ६८ हजार ९४७ रुपियाँ राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय (सवारी)का निमित्त प्रमुख कुशेश्वर साहले जानकारी दिए।
उनका अनुसार यातायात क्षेत्रको आम्दानी ५ करोड ४१ लाख १५ हजार २९१, प्रशासनिक दण्ड, जरिवाना र जफत अन्तर्गत ५० हजार ७ सय, सवारीसाधन करतर्फ ८१ करोड ९६ लाख २३ हजार ४ सय २ र चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुर १२ करोड ५ लाख ७९ हजार ५५४ गरी कुल ९९ करोड ४३ लाख ६८ हजार ९४७ रुपियाँ राजस्व सङ्कलन भएको हो। सोही अवधिमा गत आवको साउनदेखि चैत मसान्तसम्म ८२ करोड ४३ लाख १६ हजार ५६३ रुपियाँ राजस्व सङ्कलन भएको थियो। गत आवको ९ महीनाभन्दा चालू आवको ९ महीनामा करीब १७ करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
गत आवको चैत ११ गतेदेखि लकडाउन शुरू भएकोले गत वर्षको कर तथा अन्य राजस्व चालू आवमा बुझाइएकोले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख साहको भनाइ छ। गत आवको ९ महीनामा सवारीसाधन करतर्फ ६१ करोड ९ लाख ८१ हजार ८४०, यातायात क्षेत्रतर्फको आम्दानी शीर्षकमा ५ करोड ८८ लाख ३३३ हजार ५ सय २६, प्रशासनिक दण्ड जरिवानातर्फ साढे २६ हजार, सवारीसाधन करतर्फ (अर्को शीर्षक) ६ करोड ४६ लाख ४४ हजार ४४ हजार ९४८ र चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरतर्फ ८ करोड ९८ लाख २१ हजार ७२४ गरी कुल ८२ करोड ४३ लाख १६ हजार ५६३ राजस्व सङ्कलन भएको थियो।