तिलावे पुल निर्माणमा लापरवाही, यो वर्षायाममा पनि सास्ती भोग्नुपर्ने

0

प्रस, वीरगंज, १० वैशाख/
तिलावे पुल निर्माणमा ढिलाइ भएको कारण यसपटकको वर्षायाममा पनि यो सडकखण्ड प्रयोग गर्नेहरूले सास्ती भोग्नुपर्ने देखिएको छ।

२०७२ जेठ ७ गते पप्पु/लुम्बिनी जेभीले रु ७ करोड ७१ लाखमा पुल निर्माणको ठेक्का सकार गरेका थिए। तर अहिले ५ वर्ष बित्दा पनि पुल निर्माण हुन सकेको छैन। पछिल्लोपटक फागुन १३ गतेसम्म म्याद थप गरिएको थियो। सो अवधिमा पनि पुल निर्माण सम्पन्न नभएपछि अहिले असार मसान्तसम्म अवधि बढाइएको छ तर पुल निर्माणको प्रगति हेर्दा असार मसान्तमा पनि पुल निर्माण कार्य सम्पन्न हुने देखिंदैन।

अहिलेसम्म मुश्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ। नयाँ पुल निर्माणको लागि पुरानो पुल भत्काइएको छ र डाइभर्सनबाट आवतजावत गराइएको छ। गत वर्ष पनि वर्षायाममा डाइभर्सन बगेर आवतजावतमा समस्या भएको थियो। अहिले पनि डाइभर्सनको अवस्था दयनीय छ। पानी नपरेको बेला धूलाम्य र खाल्डाखुल्डीले सो सडकखण्डबाट सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको छ।

यसैगरी, सामान्य पानीमा हिलोमा परिणत हुने र आवतजावतमा समस्या हुने गरेको छ। पप्पु कन्स्ट्रक्शनका सुमित रौनियार र लुम्बिनी कन्स्ट्रक्शनका विष्णु शर्माले तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुने बताउँदै आएका छन् तर प्रत्येकपटक म्याद थप गरिन्छ र अबको अवधिमा कार्य सम्पन्न हुन्छ भनेर उनीहरूले आश्वस्त पार्दै आएका छन्। अहिलेसम्म पुलको एकातर्फको पिलर मात्र तयार भएको छ।

ठेक्का सकार भएको तीन वर्षपछि काम शुरू भएको हो। दुवै कम्पनीले एकले अर्कालाई ढिला भएकोमा आरोप लगाउँदै आएका छन्। गत वर्ष जिल्ला प्रशासन कार्यालय, पर्साले पनि पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने चेतावनी दिएको थियो। प्रमुख जिल्ला अधिकारी परिवर्तन भएसँगै त्यो चेतावनी पनि कार्यान्वयनमा आएन। अहिले तिलावे पुलबाट आवतजावत गर्दा स्थानीयले ठूलो समस्या बेहोर्दै आएका छन्।

ठेकेदार कम्पनी राजनीतिक दलसँग सरोकार राख्ने हुनाले यस विषयमा कुनै पनि दलले दरिलो तरीकाबाट विरोध गरेका छैनन्। नेपाली काङ्ग्रेसले सो पुल निर्माणको विषयलाई लिएर चलाएको आन्दोलन पनि अहिले मत्थर भइसकेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here