भनिन्छ, सङ्गत राम्रो हुनुपर्छ। कहावत पनि छ सङ्गत गुनाको फल। अर्थात् जस्तोसँग सङ्गत गर्नुभएको छ त्यस्तै बानीबेहोरा बन्छ। अहिले पनि यो मान्यता घरपरिवारमा दिइन्छ। खासगरी परिवारका सदस्य राम्रो सङ्गत गरेर राम्रो काम गरेपछि अनि नराम्रो सङ्गतमा परेर नराम्रो गरेपछि। यहाँ भन्न के खोजिएको भने निर्माणको काममा देशभर पप्पु कन्स्ट्रक्शन बदनाम भएको छ। हामी पर्सावासी पनि पछिल्ला दिनमा सो निर्माण सेवाका सञ्चालक जिल्लावासी भएपनि उसको कम्पनी देशभरमा बदनामी कमाएपछि ऊप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गरेका छौं। देशभर पप्पुले लिएको ठेक्काको बदनामीमा मात्र चर्चा छ। यो होइन कि उसले केवल बदनाम हुने खालका काम मात्र गरेको होस्। राम्रा कामहरू भएका, गरेका होलान्। तर नराम्रा कामहरूको चर्चाले सगरमाथाको उचाइँ छुन लागेकाले उसका राम्रा कामहरू चर्चामा आउन सकेका छैनन्। यहाँ उसले गरेका राम्रा कामको आँकडा प्रस्तुत गर्न खोजिएको पक्कै होइन। उदाहरणमा यो प्रसङ्ग आएको मात्र हो। तर राम्रोमा नाम कहलिएको चितवनको कालिका कन्स्ट्रक्शनको काम पनि पर्सा जिल्लामा हुलाकी सडक र वीरगंज महानगरपालिकामा सडक, नाला, पूmटपाथलगायतका काममा पछिल्लो चरणमा बदनामी कमाइरहेको छ।

हुलाकी सडकको वीरगंजदेखि ठोरीसम्मको ६० किमी सडक निर्माणको काम आधा पप्पु र आधा कालिकाले लिएको हो। पप्पुको कुरै नगरौं कछुवा गतिमा छ तर कालिकाको काम पनि ढिला भयो र गैरजिम्मेवार पनि। चितवन राष्ट्रिय निकुञ्जले इजाजत दिन ढिला गरेपछि करीब ८ किलोमिटर निकुञ्जको सडकमा सालका विशालकाय रूखहरूलाई बीचमा पारेर कालोपत्र गरेर सवारी दुर्घटनालाई निम्ता दिने काम गरेको छ। निकुञ्जले इजाजत दिएपछि बनाउने गरी काम बाँकी राख्दा बात लाग्दैन थियो। यता वीरगंजमा कालिकाले एडिबीको सहयोगमा पहिलो चरणमा निर्माण गरेको र अहिले दोस्रो चरणमा निर्माण गर्दै आएको सडक, नाला, पूmटपाथ अहिले निर्माणको केही वर्षमा नै बिग्रने, भत्कने अनि उद्देश्यअनुरूपको नभएको देखा पर्न थालेको छ। वीरगंज महानगरपालिका कार्यालयबाट हुँदै आएका विकास निर्माण कार्यको गुणस्तरीयताबारेमा महानगरवासी अनभिज्ञ छैनन्। त्यसैले एक वर्षमा तीनपटक बनाउनुपर्ने गरी महानगरपालिकाले बनाएको सडक, नालाका बारेमा अहिलेसम्म प्रश्न उठ्ने, उठाउने काम भएको छैन। वीरगंज नगरपालिकादेखि अहिले महानगर हुन्जेलसम्म उसको कार्यको गुणस्तरीयताको आकलन महानगरवासीले गरेका छन्।

कालिका कन्स्ट्रक्शनले वीरगंजमा काम गरेको लामो समय भयो। करीब एक दशक पुग्न लाग्यो होला। यसबीचमा उसले गरेका कामको टीकाटिप्पणी हुनु भनेको सङ्गत गुनाको फल नै ठान्नुपर्ला। हैन भने गुणस्तरीयतामा सम्झौता नभएको हो भने भर्खर बनेका सडकहरू कसरी बिग्रिए, नाला कसरी भत्किए, पूmटपाथ कसरी भासिंदैछन्। निर्माण कार्य सकिएको एक वर्षसम्म मर्मतसम्भार अवधि हुन्छ। अहिले पहिलो चरणका अधूरा कामहरू पूरा नभएको ठाउँ–ठाउँमा देख्न सकिन्छ। त्यसमा नयाँ निर्माणका कामहरू सकिने बेलामा बात लाग्न शुरू भएको छ। यस अर्थमा निर्माण कार्यमा कहाँ चूक भयो, यसलाई कसरी सच्चाउन सकिन्छ भन्ने कुराको जवाफदेहिता कालिकाले देखाउन आवश्यक भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here