प्रस, वीरगंज, ९ वैशाख/
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले मारवाडी सेवा ट्रस्टको सहयोगमा निश्शुल्क आक्सिजनको व्यवस्था गरेको छ।

कोरोना सङ्क्रमितहरूलाई लक्षित गरेर आक्सिजनको व्यवस्था गरिएको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए। सङ्क्रमित भएर घरमा आइसोलेट भएकाहरूलाई आकस्मिक सेवा प्रदान गर्नका लागि निश्शुल्क आक्सिजन वितरण कार्यको शुभारम्भ गरिएको अध्यक्ष खेतानले बताए। उनले कसैलाई आकस्मिक आक्सिजनको आवश्यकता परेमा नेपाली नागरिकताको प्रतिलिपि वा चिनजानका मानिसको जमानी लिएर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरमा सम्पर्क गरेमा निश्शुल्क आक्सिजन उपलब्ध हुने बताए।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले निश्शुल्क आक्सिजन वितरण कार्यक्रमको बिहीवार बिहान कार्यक्रमबीच उद्घाटन गर्दै शुभारम्भ गरेका थिए। सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतम, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, ग्रीनसिटीका रतन टेमानी, ललित टेमानी, कैलाश बजाज, राकेश अग्रवाललगायतको सहभागिता थियो।

आकस्मिक निश्शुल्क आक्सिजन सेवा यसअघि पहिलो कोरोनाकालमा पनि ग्रीनसिटीलगायतका संस्थाहरूले वीरगंजमा करीब तीन महीना सञ्चालन गरेका थिए। हालका दिनमा सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालसमेतमा आक्सिजनको अभाव भएको छ भने घरमा आइसोलेट सबैले भुक्तानी गरी आक्सिजन सेवा लिन सक्ने अवस्था नरहेकोले यो सेवा पुनः शुरू गरिएको अध्यक्ष खेतानले प्रतीकलाई बताए। ग्रीनसिटीले सङ्क्रमित सङ्ख्या बढ्न थालेपछि वैशाख ७ गतेदेखि महानगरपालिकामा प्रहरीसमेतको सहकार्यमा सचेतना कार्यक्रम र मास्क वितरण गर्दै आएको अध्यक्ष खेतानले बताए। उनले घण्टाघरदेखि दक्षिण बजार क्षेत्रका पसलहरू, सडकपेटीमा हिंडने बटुवा, रिक्शा, टेम्पो, ईरिक्शा, मोटरसाइकल र साइकल चालकहरूलाई मास्क वितरण गरिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here