प्रस, वीरगंज, ९ वैशाख/
विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले नेपाल राजनीतिकरूपले नभए पनि सांस्कृतिकरूपले हिन्दू राष्ट्र नै रहेको दाबी गरेका छन्।
विश्व हिन्दू परिषद् नेपालले बिहीवार वीरगंजको जैन धर्मशालामा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा पराण्डेले नेपाल कहिले पनि धर्मनिरपेक्ष देश हुन नसक्ने दाबी गरे। उनले राजनीतिक दलका नेताहरूले क्षणिक स्वार्थका लागि कागजमा मात्र धर्मनिरपेक्ष लेखेको तर नेपाल अहिले पनि हिन्दू राष्ट्र भएको अभिव्यक्ति दिए।
महामन्त्री पराण्डेले चार कारणले हिन्दू धर्मलाई कमजोर पार्ने खेल भइरहेको बताए। इसाई धर्मको प्रचारबाजी र धर्मान्तरण, इस्लामिक आतङ्कवाद, कुनै धर्ममा विश्वास नगर्ने लहर र पश्चिमी भोगवादी शैली भित्रिनाले हिन्दू धर्मलाई कमजोर बनाउन हिन्दू धर्ममाथि प्रहार भइरहेको उनको ठम्याइ थियो।
पाकिस्तान र बङ्गलादेशमा हिन्दू धर्म सङ्कटको अवस्थामा रहेको उनले बताए। त्यहाँ अस्तित्वको सङ्घर्ष हँुदै आएको पराण्डेले बताए। न्यायपालिका मुस्लिमकै छ, दिनहुँ हिन्दूमाथि अन्याय, अत्याचार बढे पनि हिन्दूवादी सङ्गठनहरू खुलेर अगाडि आउन सकेका छैनन्। चौतर्फीरूपमा हिन्दूमाथि नै प्रहार भइरहेको उनले बताए।
जुन ठाउँमा मुस्लिम आबादी बढेको छ, त्यो ठाउँमा जिहाद, चेलीबेटी बेचबिखन, गौहत्या र मुस्लिम तुष्टीकरणको राजनीति बढ्दै गएको उनले बताए। इसाई मिशिनरीले पनि समाजका गरीब व्यक्तिहरूलाई ललाइफकाइ धर्मान्तरण गराइरहेको छ। पश्चिमी भोगवादको प्रभाव बढेकोले पनि हिन्दूहरू आप्mनो संस्कारदेखि टाढिदै गएको उनको जिकिर थियो। उनले हिन्दू संस्कृतिमा रहेको जातीय छुवाछूत, भेदभाव, जातीय भाषा, सम्प्रदायको अहङ्कारले गर्दा एक हिन्दूले अर्को हिन्दूसँग गलत व्यवहार गरिरहेको जिकिर गरे। उनले सबै खाले विकृतिबाट मुक्त हुन सम्पूर्ण हिन्दू एकजुट हुनै पर्ने बताए।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवं हिन्दू स्वयंसेवक सङ्घ पर्साका संस्थापक माधव राजपालले महामन्त्री पराण्डेलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।
हिन्दू स्वयंसेवक सङ्घ पर्साका कार्यवाहक अध्यक्ष ललन द्विवेदीको अध्यक्षतामा सम्पन्न परिचयात्मक कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका महामन्त्री प्रह्लाद रेग्मी, नगर कार्यवाहक अध्यक्ष रामलखन यादव, विश्व हिन्दू परिषद् वीरगंज महानगर उपाध्यक्ष कृष्णमोहन सहायलगायतको सहभागिता थियो।