प्रदेश नं. २ लामो समयदेखि विभिन्न खाले पीडाबाट ग्रस्त छ । आफ्नो हकका लागि आन्दोलन गर्दा कहिले राष्ट्रिय एकतामा विभाजन ल्याउने दोष खेपेको छ त कहिले कोरोना महामारीको इपिसेन्टर भनेर खेदिएको छ । बितेको वर्षको चैतमा पहिलो महामारी फैलिंदा यस प्रदेशको पर्सा जिल्लालाई बदनाम गराइयो । यद्यपि शुरू महामारीको सङ्क्रमण विदेशी नागरिकबाट भएको थियो । विश्वभरि कोरोना महामारीको लहर चलिरहेको बेला केन्द्र सरकारले नेपाल प्रवेश गर्ने लामो खुला सीमामा गतिरोध पुर्याउन सकेन । छिमेकी मुलुकमा आजीविका कमाउन गएका नेपालीहरू भारतमा कोरोनाको जगजगीबाट त्रस्त भई खुला सीमा भएर जथाभावी प्रवेश गरे र आफूसँग सङ्क्रमण पनि बोकेर ल्याए । सरकारले केही गर्न सकेन । न क्वारेन्टाइनको राम्रो व्यवस्था गरियो, न जानकारी दिएर आउन चाहनेलाई सहज प्रवेश दिइयो । नतीजा के भयो भने मानिस चोरीछिपी नेपाल प्रवेश गर्न थाले । तर दोष लगाइयो, प्रदेश २ र यसका विभिन्न जिल्लामाथि । त्यसै बेला अति आवश्यक कामले–उपचार, मरण–हरणमा समेत प्रदेशका मानिसको आवागमनमा रोक लगाएर अपराधबोध गराइयो ।
मज्जको कुरा के भने पोस्ट कोभिडकालसम्म पर्सा जिल्ला ती थोरै जिल्लाहरूमध्ये एक हो, जहाँ कोरोनाका कारण मानिसको ज्यादै कम मृत्यु भयो । सर्वाधिक सुरक्षित राखिएको राजधानीमा मृत्यु सङ्ख्या धेरै पुग्यो । यद्यपि अनुपातको हिसाबले त्यो थोरै होला, तर यस कुराले केन्द्रको प्रदेश २ प्रतिको मनोग्रन्थिमा सुधार नभएको देखाउ“छ । जसोजसो बाजे तसोतसो स्वाहा भनेजस्तै अहिले पुनः कोरोना प्रसार भएसँगै मकवानपुर जिल्लाले प्रदेश २ का मानिसलाई आफ्नो जिल्लामा प्रवेश नदिने नीति सार्वजनिक गरेको छ । आफ्नो जिल्लावासीको सुरक्षाको चिन्ता गर्नु स्वाभाविक हो, तर अन्य जिल्लाको आत्मसम्मानमा धक्का पुग्नेगरी किटेरै प्रदेश २ का मानिसलाई प्रवेश नदिने कुरा अपमानबोधक मात्र हो । के प्रदेश २ मा मात्र कोरोना सङ्क्रमण फैलिएको हो ? देशका अन्य सबै प्रदेश सुरक्षित छन् । सरकारले यहाँ नियमित परीक्षण गर्दैन, आक्कलझुक्कल परीक्षण गर्छ । स्वभावतः धेरै सङ्ख्यामा सङ्क्रमित फेला पर्छन् । के सबै पोजिटिभ केस कोरोना नै हो ? हो भने हिजो पनि त जिल्लाका धेरै मानिस सङ्क्रमित थिए, किन यहाँ मृत्युदर न्यून रह्यो ?
यो कुरा देशभरिका मानिसले स्वीकार गर्नुपर्छ कि प्रदेश २, खासगरी पर्सा जिल्लामा मृत्युदर कम हुनुमा यहाँका मानिसमा रोग प्रतिरोधक क्षमता बढी छ, यहाँका चिकित्सकहरूमा रोगको उपचार गर्ने सम्यक कौशल विद्यमान छ । हुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु भनिन्छ । निश्चय नै अहिले कोरोना भाइरसको हुलबाट सबैले जीउ जोगाउनु आवश्यक छ । सबैले आफ्नो ज्यानको सुरक्षा गर्नु प्रकृतिको नियम हो । पर्सा जिल्ला शुरूदेखि नेपालको प्रवेशद्वार रहिआएको छ । अहिले दक्षिणी सीमान्त प्रदेशका सबै जिल्ला प्रवेशद्वार बनेका छन् । यदि प्रवेशद्वार भएकैले पर्सा जिल्लावासीलाई वर्जना गरिन्छ भने त्यो वर्जना देशका सबै दक्षिणी जिल्लाका वासिन्दालाई गरिनुपर्ने हो । अन्यथा मकवानपुर जिल्लाको यो निर्णयलाई अर्घेल्याइँ मात्र ठानिने छ । बरु केन्द्र सरकारलाई भनेर हिजोजस्तै अन्तरजिल्ला आवागमनमा रोक लगाए गुनासो गर्ने ठाऊँ रहने थिएन । भेदभावजन्य यस्ता कुरा लोकतन्त्रमा निको मानिंदैन ।