प्रस, परवानीपुर, ४ वैशाख/
प्रदेश २ को करीब साढे ४२ करोडको बजेटमा पर्सा र बाराका ग्रामीण भेगमा पाँचवटा पुलको निर्माण कार्य गर्ने योजना अघि बढेको छ।
गत माघ २९ गते प्रदेश २ को भौतिक पूर्वाधार विकास कार्यालय वीरगंजले टेन्डर आह्वान गरी पाँचवटा ठेक्काको लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाएको कार्यालयका सूचना अधिकारी इन्जिनीयर दीपक मिश्रले जानकारी गराए। पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाएको र स्वीकृति आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरी कार्य सम्पन्न गराउन ठेक्का सम्झौता गरिने उनले बताए। उनका अनुसार पर्साको रविदास–बन्जारी जोड्ने सिकटा खोलामा करीब १२ करोड रूपैयाँको लागतमा ७ मिटर चौडा र ५० मिटर लम्बाइको पुल र मसियानी–जगरनाथपुरबीच मधुवाहा खोला ७ मिटर चौडा र ४० मिटर लम्बाइको पुलको लागि ८ करोड बजेट इस्टिमेट गरिएको छ।त्यसैगरी, बाराको कलैया–प्रस्टोका सडकखण्डबीच सन्सारीमाई खोला पुलको लागि साढे ६ करोड बजेट इस्टिमेट भएको छ। उक्त पुल ७ मिटर चौडा र २५ मिटर लम्बाइको लागि ठेक्का आह्वान भएको छ। बाराकै टियर खोला पुलको लागि ८ करोड बजेट विनियोजन भएको छ। इटहर–बेलाही सडकखण्ड बीच बन्ने उक्त पुल ७ मिटर चौडा र ५० मिटर लम्बाइको हुनेछ।
त्यसैगरी, बारागढी–टेढाकट्टी सडकखण्डबीच बन्ने चिउटाहा खोला पुलको लागि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ करोडको लागत इस्टिमेट गरेको छ। ७ मिटर चौडा र ४० मिटर लम्बाइको पुलको लागि पनि ठेक्का आह्वान भएको उनले जानकारी गराए। उनले पाँचवटा पुलमा ठेक्का प्रक्रिया अघि बढाउन १/१ करोड बजेट हाल निकासा भइसकेको र ठेक्का सकार भएपछि बाँकी बजेट प्रदेश सरकारले पठाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here