प्रस, निजगढ, ४ वैशाख/
शहीद दिवसको अवसरमा शहीद हीरालाल गौतमको सालिकमा माल्यार्पण गरिएको छ। जनआन्दोलन २०६२/०६३ मा निजगढ बागदेव निवासी शहीद हीरालाल गौतमको सालिकमा शनिवार श्रद्धाञ्जलि अर्पण गरिएको छ।राजतन्त्रविरुद्ध आन्दोलनको क्रममा निजगढ सङ्गम चोकमा भएको प्रदर्शनमा तत्कालीन शाही सेनाले चलाएको गोली लागेर गौतमले शहादत प्राप्त गरेका थिए। देशमा लोकतन्त्र स्थापित भएसँगै सङ्गमचोकलाई शहीदचोक नामकरण गरिएको थियो। राजतन्त्रको अन्त्यपछि देशको विकास, समृद्धि, रोजगार, किसान, व्यापारी, विद्यार्थी, मजदूरलगायत सामान्य जनजीवनमा आमूल परिवर्तन आउने आशामा गरिए पनि अहिलेसम्म सो आशा पूर्णरूपमा सफल हुन नसकेको भन्दै श्रद्धाञ्जलि सभामा वक्ताहरूले चिन्ता व्यक्त गरे। पूर्वमन्त्री एवं शहीद मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम पौडेलको मुख्य आतिथ्यमा भएको कार्यक्रममा शहीद गौतमका पिता टङ्कनाथ उपाध्याय पौडेल र माता रत्नकुमारीको स्मृतिमा ४ लाख रकमको अक्षयकोष खडा गर्ने शहीद मुखलाल स्मृति प्रतिष्ठानका अध्यक्ष पौडेलले घोषणा गरे।
प्रत्येक वर्ष वैशाख ४ गते शहीद दिवसको अवसर पारेर जिल्लाका एकजना नवप्रतिभा उत्कृष्ट विद्यार्थी, एकजना निजगढको सामुदायिक विद्यालयका र एकजना कलेजका उत्कृष्ट विद्यार्थीलाई जनही रु १०/१० हजार पुरस्कार दिइने र हरेक वर्ष फरक–फरक विद्याका युवालाई समेत सो पुरस्कार प्रदान गर्ने जनाइएको छ।
कार्यक्रममा शहीद पत्नी गायत्री गौतम, एकबहादुर श्रेष्ठ, थलप्रसाद गौतम, जयराम कुमर, दुर्गा कोइराला, रविराज दङ्गाल, सुदर्शन कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन गोकुल घोरसाइनेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here